कोटेश्वर-जगाती सडक खण्डमा लेनअनुसार सवारीसाधन चलाउन पर्ने भएको छ । सवारी दुर्घटना बढ्दै गएपछि कोटेश्वर -जगाती सडकखण्डमा साना र ठूला सवारी साधनलाई छुट्टाछुट्टै लेनमा बिभाजन गरि चलाउने ट्राफिक व्यवस्थापन गरीएको हो ।
बस, कार, मालबाहक गाडी तथा मोटरसाइकलका लागि छुट्टाछुट्टै लेन निर्धारण गरिएको छ । मंगलबारदेखि पहिलो तथा बायाँतर्फको लेन ठूला सार्वजनिक वस तथा मालबाहक सवारी र दोस्रो लेन कार तथा मोटरसाइकलका लागि निर्धारण गरिएको छ ।
आफ्नो लेनभन्दा बाहिर गएर सवारी चलाएको पाइएमा ट्राफिक प्रहरीले कारवाही गर्नेछ । आजवाट शुरु भएको लेन व्यवस्थापनका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन शुरु गरेको छ ।
अहिले जगाती-कोटेश्वर क्षेत्रको ९ दशमलव ७ किलोमिटर क्षेत्रमा मात्रै लेन विभाजन गरीएको छ । अन्य स्थानमा पनि लेन विभाजन गरेर कार्यान्वयनमा ल्याउने तयारी महाशाखाले गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा ठूला गाडीबाट साना सवारी साधनको जोखिम घटाउन लेनमा मात्रै सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

