बीएमडब्लूको इलेक्ट्रीक क्रसओभर ‘आईएक्स–१’को विक्री सुरु

काठमाडौं । विश्व प्रसिद्ध कार निर्माता कम्पनी बीएमडब्लूले उत्पादन गरेको क्रसओभर मोडल ‘आईएक्स–१’ जर्मनीबाट विक्री सुरु भएको छ । कम्पनीले यो क्रसओभरलाई पहिलो पटक मे २०२२ मा देखाएको थियो ।

यसलाई कम्पनीले आगामी हप्ताबाट ग्राहकमा हस्तान्त्रण गर्ने जनाएको छ । एउटा मात्रै भेरियन्टमा उपलब्ध रहने यो इलेक्ट्रीक कारमा ६६.५ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४३७ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

बीएमडब्लूले अहिले विक्री गर्दै आएको एक्स–१० कै प्लेटफर्ममा तयार गरेको यो मोडलले सून्यदेखि १०० किलोमिटरको स्पीड केवल ५.७ सेकेन्डमा भेट्टाउने छ । बीएमडब्लूले यसमा २३३ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसको मतलव आईएक्स–१ ले ३१३ हर्सपावर प्रदान गर्छ ।

बीएमडब्लूले यसमा १२७ किलोवाटको डिसी चार्जर सपोर्ट गर्न सक्नेगरी यसलाई तयार पारेको छ । यसको इन्टेरियर अहिले बजारमा उपलब्ध बीएमडब्लू एक्स १ को जस्तै छ ।

बीएमडब्लूले नेपालमा पनि इलेक्ट्रीक मोडल सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, सरकारले कर बढाएको कारण अझै बीएमडब्लूका इलेक्ट्रीक कार नेपाल आउने मिति तय हुन सकेको छैन । लक्ष्मी प्रिमियम बीएमडब्लूको आधिकारीक विक्रेता हो ।

 


Back_to_top