बीएमडब्ल्यू एक्स थ्रीको फेसलिफ्ट तस्विर सार्वजनिक

काठमाडौं । जर्मन लग्जरी कार निर्माता कम्पनी बीएमडब्ल्यूको चर्चित मिड साइज एसयूभी एक्स थ्रीको फेसलिफ्ट मोडल आउने भएको छ । कम्पनीको नयाँ फेसलिफ्ट मोडलको तस्विर इन्टरनेटबाट सार्वजनिक भएसँगै चाँडै बजारमा आउने अनुमान गरिएको हो ।

सार्वजनिक भएको तस्विर अनुसार यसमा बीएमडब्ल्यूको सिग्नेचर किड्नी ग्रिल रहने छ । यसमा अहिले दिइएको हेडल्याम्पलाई रि-डिजाइन गरेर प्रयोग गरेको देखिन्छ । अगाडिको लोअर बम्परमा निकै ठूलो एयर इन्टेक दिइएको छ । भने दुई छेउमा फगल्याम्प दिइएको छ । एसयूभीको पछाडिको भागमा थ्री डाइमेन्सनल एलइडी टेलल्याम्प रहेको छ ।

कालो रङको स्कीड प्लेट, दुई वटा एग्जस्ट पाइप, नयाँ डिजाइनको अलोय ह्वील, सार्क फिन एन्टेना, कालो कलरमा रुफरेल जस्ता बाहिरी फिचर निकै आकर्षक देखिएको छ ।

तस्विरलाई नै आधार मानेर यसको भित्री फिचरको विषयमा अनुमान लगाउन सकिदैन । यद्यपी यसअघिका विभिन्न रिपोर्टलाई आधार मान्दा १२.३ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, हर्मन कार्डनको १६ वटा स्पीकर, वायरलेस फोन चार्जर जस्ता फिचर रहने छन् भने कम्पनीले सुरक्षा फिचरले यसलाई भरिपूर्ण बनाउने अनुमान गर्न सकिन्छ ।

यसको इन्जिनमा पनि परिमार्जन हुने अनुमान गरिएको छ । यद्यपी कम्पनीले यसमा रहने इन्जिन अप्सनको विषयमा कुनै आधिकारीक जानकारी बाहिर ल्याएको छैन ।

नेपालमा पनि विगत एक वर्षदेखि बीएमडब्ल्यूका गाडीहरु विक्री वितरण हुँदै आएका छन् । सिधै यूरोपबाटै आयात गरेर नेपालमा विक्री हुँदै आएको बीएमडब्ल्यूको आधिकारीक वितरक लक्ष्मी प्रिमियम हो ।


Back_to_top