काठमाडौं । अमेरिकी जहाज कम्पनी बोइङले कतारलाई एकैपटक २१० वटा जहाज बिक्री गर्ने सम्झौता गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको जारी अबर देशको भ्रमणमा उक्त सम्झौता भएको हो ।
बोइङले अहिलेसम्मकै सबैभन्दा ठूलो सिंगल अर्डर प्राप्त भएको जनाएको छ । एक साथ २१० वाइडबडी बिक्री सम्झौता हुनु थिचिएको बोइङको लागि साँच्चै ठूलो सफलता हो ।
बाेइङले पाएको अर्डरमा १३० वटा ७८७ ड्रिमलाइनर जेट, ३० वटा ७७७ नाइन एस र ५० वटा ७७७ एक्स रहेको छ । यी सबै जहाज कतारले खरिद गर्ने भएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्प र कतारका अमिर हमाद अल थानीको उपस्थितिमा भएको उक्त सम्झौतामा बोइङका सीईओ केली अटबर्ग र कतार एयरवेजका सीईओ बद्र मोहम्मद अल मीरले हस्ताक्षर गरेका थिए ।
कतार एयरवेजले बोइङको जहाजसँगै इन्जिन कम्पनी जीई एरोसपेशसँग ४०० वटा जहाजका इन्जिन खरिद गर्ने सम्झौता गरेको हो । बोइङको जहाज र जीईको इन्जिन गरी ९६ अर्ब डलरको सम्झौता भएको ह्वाइट हाउसले जानकारी दिएको छ ।
ट्रम्पको कतार भ्रमण अगाडि नै कतारी अमिर अल थानीले अमेरिकी राष्ट्रपतिका लागि बोइङ ७४७-८ जहाज उपहार दिने घोषणा गरेका थिए । यसअघि उक्त जहाज राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यक्तिगत उपहार दिन लागेकोमा अमेरिकामा डेमाक्रयाट्स र रिपब्लिकनले समेत विरोध जनाएका थिए ।