आगामी वर्ष पुल निर्माण गर्न मन्त्रालयले माग्यो ६ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०७६/७८ मा पुल निर्माणका लागि ६ अर्ब बजेट माग भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आउदो आर्थिक वर्षमा पुल निर्माणका लागि सो बजेट अर्थमन्त्रालयसँग माग गरेको हो । 

चालु आर्थिक वर्ष २०७५/७६ सालमा पर्यटकीय सम्भाव्य स्थलहरू आसपास निर्माण हुने राजमार्गका पुलहरू कलात्मक बनाउन तथा रणनीतिक सडक पुल निर्माण सम्पन्न गरी सडक यातायात सुचारु गर्नको लागि ५ अर्ब २४ करोड ७६ लाख विनियोजन गरेको थियो । 

त्यसैगरी तीन वर्षभित्र सम्भाव्य सबै ठाउँमा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ३ अर्ब ११ करोड ४० लाख बजेट छुट्टै विनियोजन गरिएको थियो । 

अहिले नेपालभर कुल १ हजार १ सय ६८ पुल निर्माण हुने क्रममा रहेका छन् । ती मध्ये ८७ वटा पुल निर्माणको काम सम्पन्न भएको छ ।

मुङलीनमा निर्माणाधिन १ सय ६० मिटरको आर्क ब्रीज, रौतहट माधवपुरको ७ सय मिटर बागमती पुल, हुलाकी राजमार्ग अन्तर्गतको २ वटा पुल, र मदन भण्डारी राजमार्ग अन्तर्गत २५ वटा पुल निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न भएका हुन् । सरकारले चालु आर्थिक वर्ष भित्र २ सय पुल निर्माण सम्पन्न गर्नु लक्ष्य लिएको छ ।


Back_to_top