काठमाडौं । भारतमा करिब १० महिनाअघि लागु भएको नयाँ प्रदुषण मापदण्ड बीएस ६ इन्जिन भएका मोटरसाइकल संख्यात्मकरुपमा नेपाल आएका छैनन् । नेपालमा विक्री वितरण हुँदै आएका भारतीय ब्रान्ड बजाज, हिरो, टीभीएस जस्ता कम्पनीले अझै बीएस ६ मोटरसाइकल नेपाल ल्याएका छैनन् ।
त्यस्तै होन्डा, सुजुकी, यामाहा जस्ता जापानी उत्पादकले समेत भारतमा नै उत्पादन गरेका अधिकांश मोडल नेपाल पठाउने गरेका छन् । यी कम्पनीहरुले पनि बीएस ६ मापदण्डको मोटरसाइकल नेपाल ल्याएका छैनन् । विशेषत बीएस ६ मापदण्डका मोटरसाइकल बीएस ४ को तुलनामा महंगो हुने र नेपालले अहिलेसम्म पनि बीएस ३ सो-सरहको मापदण्ड मात्रै लागु गरेकाले कम्पनीहरुले बीएस ४ मा नै मोटरसाइकल आयात गरिरहेका छन् ।
स्कुटर सेग्मेन्टमा भने यामाहाले फसिनो १२५ र रे जेडआर १२५ बीएस ६ मापदण्ड अनुरुप इन्जिनमा नै ल्याएर विक्री गर्दै आएको छ । त्यसैगरि नेपालमा २०२० मा सर्वाधिक विक्री भएको स्कुटर टीभीएस एनटर्क १२५ को बीएस ६ भर्सन नेपाल आएको छ ।
मोटरसाइकलमा यूरोपियन ब्रान्ड हस्कभर्नाले बीएस ६ मापदण्डको मोटरसाइकल विक्री गरिरहेको छ । कम्पनीले नेपाली हस्कभर्ना स्वार्टपिले २५० र भिट्पिलेन २५० विक्री गर्दै आएको छ ।
त्यसैगरि केटीएमले आफ्ना सबै मोटरसाइकल बीएस ६ भर्सनका विक्री गरिरहेको छ । कम्पनीले केटीएम ड्युक १२५, २००, २५०, ३९० त्यस्तै आरसी २००, ३९० र केटीएम एड्भेन्चर ३९० समेत बीएस ६ मा विक्री गरिरहेको छ ।

