नेपालले बिक्रम संम्बत २०५६ सालमा पहिलोपटक नेपाल भित्रने सवारीसाधनको लागि यूरो मापदण्ड लागु गरेको थियो । ठ्याक्कै त्यहिवेला भारतले सन् २००० मा यूरो मापदण्ड यूरो १ भारतमा पनि लागु गरेको थियो ।
अहिले समय फेरिएको छ । नेपालले त्यसपछि २०६९ सालमा दोस्रो पटक यूरो मापदण्डको विषयमा परिमार्जन गर्दै आफ्नै नयाँ प्रदुषण मापदण्ड निर्माण गरेको थियो । त्यतिवेलासम्म नेपालमा भारतबाट आउने सवारीसाधनको संख्या बढ्दै थियो भने तेस्रो मुलुकबाट आउने सवारीसाधनको संख्या घट्दो क्रममा रहेको थियो ।
त्यसैले नेपाल सरकारले भारतले आफ्नोमा बीएस ४ लागु गरिसकेको अवस्था नेपाल इमिशन स्टायडर्ड २०६९ तयार गरेको थियो । जुन भारत स्टेज (बीएस-३) र यूरो-३ लाई आधार बनाएर ‘नेपाल इमिशन स्टायडर्ड ३’ तयार गरिएको थियो ।
नेपालले त्यसपछिको सात वर्षमा कुनै किसिमको मापदण्डमा परिमार्जन गरेको छैन । अब भारत एक महिनापछिबाट पूर्णत बीएस-६ मापदण्डमा प्रबेश गर्ने भएको छ । अहिले सबै जसो अटो उत्पादकले भारतमा बीएस-६ मापदण्डको गाडीहरु निर्माणलाई अन्तिम चरण पुर्याएका छन् ।
केहो बीएस-६
भारत स्टेज इमिशन स्टायडर्ड (बीएसइएस) भारतमा सवारीसाधनले गर्ने प्रदुषण नियमन गर्न निर्माण गरिएको कानुन हो । यसले केन्द्रिय प्रदुषण नियन्त्रण बोर्ड भारतको वातावरण, जंगल र जलवायू परिवर्तन मन्त्रालय अन्तर्गत रहेर काम गर्छ ।
यसले आफ्नो पहिलो स्टायडर्ड सन् २००० मा तयार गरेको थियो भने बीएस-२ लाई २००५ र बीएस-३ लाई २०१० मा लागु गरेको थियो । सन् २०१७ मा बीएस फोर लागु गरेको भारतले बीएस-५ भने प्रयोगमा नल्याई एकै पटक बीएस-६ मा परिमार्जन गरेको हो ।
यसले बीएस-४ को तुलनामा निकै कम प्रदुषण गर्ने दाबी भारतले गरेको छ । जुन यूरोपियन स्टायडर्ड यूरो-६ बराबर जस्तै मानिएको छ ।


