काठमाडौं । नेपाली अटो बजार भारतीय अटो बजारमा निर्भर रहेको छ । भारतमा निर्माण हुने कार तथा मोटरसाइकल नेपाली बजारमा हिस्सा ९० प्रतिशतभन्दा बढी रहँदै आएको छ ।
यस्तोमा आगामी अप्रिल १ देखि भारतले नयाँ प्रदुषण मापदण्ड अनुसार बीएस-६ मापदण्ड लागु गर्दैछ । अहिले भारतमा अटो उत्पादन गर्दै आएका प्रायः सबै कम्पनीले आफ्ना उत्पादन बीएस-६ मापदण्डका इन्जिनमा सार्वजनिक गरिरहेका छन् ।
भारतको नोयोडामा सम्पन्न भएको अटो एक्स्पोमा समेत सहभागि सबै कम्पनीले बीएस-६ इन्जिनका सवारीसाधन प्रर्दशन गरेका थिए ।
भारतीय बजारमा बीएस-६ मापदण्ड लागु भएसँगै नेपाली बजारमा समेत यसको चर्चा हुनु स्वभाविक हो । अहिले नेपालमा मारुती सुजुकीले आफ्ना धेरै उत्पादन बीएस ६ इन्जिनमा ल्याएर बिक्री गरिरहेको छ भने कियाले सेल्टोस बिक्री गरिरहेको छ ।
भारतले बीएस-६ मापदण्ड लागु गर्ने तयारीलाई अन्तिम चरणमा लग्दा नेपालमा भने नेपाल प्रदुषण मापदण्ड ३ लागु भइरहेको छ । सरकारी नीतिमा जे भएपनि नेपालमा बिक्री हुने अधिकांश साना र हलुका सवारीसाधन बीएस ४ मापदण्डका रहेका छन् । अब भारत बीएस-६ मा जाँदैगर्दा नेपालमा पनि सोही मापदण्ड अनुसारका गाडी आउने छन् ।
यस्तोमा नेपालमा बीएस-६ सवारी आयात गर्नु भन्दा अगाडि विभिन्न समस्याहरु झेल्नु पर्ने हुन्छ ।
१. मेकानिक्स
हाल नेपाली बजारमा रहेको अधिकांश सावरीसाधनमा बीएस-४ इन्जिन रहेको छ । बीएस-४ र बीएस-६ इन्जिनमा धेरै भिन्नता रहेको छ । नेपाली बजारमा बीएस-६ इन्जिन युक्त सवारीसाधन भित्र्याउनु पूर्व सबै कम्पनीले आफ्नो सर्भिस सेन्टरलाई प्रविधियूक्त र दक्ष मेकानिक्सको व्यवस्था गर्नु पर्ने हुन्छ ।
बीएस-६ मापदण्डमा अनिवार्य रहेको एफआई प्रविधिको मर्मतमा नै नेपाली बजारमा दक्ष कामदार तथा उपकरण उपलब्ध रहेको छैन् । यामाहाले हालै मात्र एफआई फिटनेश सेन्टर सुरु गरेको छ । त्यसैले नेपालमा बीएस–६ सवारी साधन भित्र्याउनु पहिला यी कुरामा ध्यान दिन आवश्यक रहेको छ ।
२. इन्धन
हाल नेपालमा यूरो-४ मापदण्ड अनुसारको इन्धन आयात भइरहेको छ । यूरो ६ मापदण्डका सवारी साधनमा यूरो-४ मापदण्डको इन्धन हाल्दा इन्जिन बिग्रने तथा सवारीसाधनको क्षमतामा ह्रास आउने हुन्छ । तत्काल भारतीय बजारमा उपलब्ध बीएस-६ मापदण्डका सवारीसाधन ल्याउनु सम्भव रहेपनि इन्धनका लागि केही समय लाग्ने देखिन्छ । नयाँ मापदण्डको तेल आयातपछि मात्र बीएस-६ इन्जिन भएका सवारीसाधन ल्याउनु उपयुक्त हुन्छ ।
३. महंगो मूल्य
भारतीय बजारमा धमाधम सार्वजनिक भइरहेका बीएस-६ मापदण्डका सवारीसाधानको मूल्य बढेर आइरहेको छ । हाम्रो जस्तो महंगो मूल्य तिरेर गाडी किन्नु पर्ने ठाँउमा अझ मूल्य बढ्ने छ । अर्कोतर्फ यसले व्यापार घाटा बढाउने छ ।
यति हुँदा हुँदै पनि नयाँ मापदण्डको इन्जिनले गर्ने प्रदुषण अत्यन्त न्यून हुने हुँदा नयाँ गुणस्तरको तेलको उपलब्धता र कम्पनीहरुले सर्भिसमा गर्ने लगानी बढाएर यस्ता सवारीसाधन आयात गर्नु उपयुक्त हुन्छ ।

