फेरी बढ्ने भयो गाडीको मूल्य, यस्तो छ कारण

काठमाडौं । गाडीको मूल्यमा फेरी वृद्धि हुने भएको छ । भारत सरकारले आगामी अप्रिल १ बाट अनिर्वाय हुनेगरी प्रदुषण मापदण्डमा परिवर्तन गरेसँगै गाडीको मूल्य वृद्धि हुने भएको हो ।

अहिले भारतमा उत्पादन भएका कारको ९५ प्रतिशतभन्दा बजार हिस्सा नेपालमा छ । यस्तोमा भारतमा अनिर्वाय भएसँगै कार सेग्मेन्टमा नयाँ मापदण्डमै आउने भएको कारण तत्काल त्यसको असर नेपालमा पनि पर्ने भएको हो ।

‘जनवरीबाट उत्पादनमा आउने सबै कारहरु बीएस सिक्स मापदण्डको फेज २ मा आधारित रहेर आउँछन् । यसले समग्रमा गाडीको मूल्य ५ देखि ७ प्रतिशतसम्म फरक पार्छ । त्यसैले नेपालमा पनि जनवरीपछि आउने कारको मूल्य वृद्धि हुनेछ’, एक गाडी विक्रेताले मेरोअटोसँग भने ।

भारत सरकारले लागु गर्न लागेको ‘रियल ड्राइभिङ इमिशन’ (आरडीई) मापदण्डको कारण धेरै डिजेल इन्जिन बन्द हुने अवस्था आएको छ । ‘आरडीई’ मापदण्ड बीएस ६ मापदण्डको दोस्रो फेज हो । यसमा गाडीको परिक्षण बाटोमा गुड्दा गुड्दै र ल्याव दुबै स्थानमा हुनेछ । यसले गाडीको प्रदुषण चेक सहि तरिकाले हुने भएको कारण त्यही अनुसारको उत्पादन हुनु पर्ने बताइएको छ ।

परिक्षणको क्रममा ब्यस्त सडकमा चलाउदा गर्ने प्रदुषण, तिब्र गतिमा चल्दा गर्ने प्रदुषण र गति कम गर्ने क्रममा एक्सीलेरेटरबाट खुट्टा हटाउँदा हुने प्रदुषण परिक्षण हुनेछ । यसलाई नै रियल ड्राइभिङ इमिशन (आरडीई) मापदण्ड भनिएको हो । यसमा सफल हुनेगरी आउनु पर्ने भएको कारण कारको मूल्य बढ्ने बताइएको छ ।

यसको लागि कार उत्पादकहरुले इन्जिन डेभलपमेन्टमा ठूलो धनराशी खर्च गर्नु पर्ने अवस्था आएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । भारत सरकारले अप्रिल २०२३ बाट नै यो नियम लागु गर्न लागेको कारण विभिन्न कम्पनीका उत्पादन बन्द हुने अवस्थामा पुगेका हुन् ।

 


Back_to_top