काठमाडौं । सरकाले आर्थिक बर्ष २०७५/७६को बजेट बक्तब्य मार्फत सवारी साधनमा लाग्दै आएको अन्तशुल्क २० प्रतिशतसम्मले बढाएको छ ।
आज संसदमा पेसभएको बजेटले १ हजार सीसीसम्मको गाडीमा लाग्दै आएको अन्तशुल्क बढाएको छैन भने त्यसभन्दा माथी सिलिङ बनाएर अन्तशुल्क थप्दै लगेको छ ।
कति सीसीको गाडीमा कति बढ्छ
एक हजार सीसीदेखि १५ सय सीसीसम्मको सवारी साधनमा ५ प्रतिशतले अन्तशुल्क वृद्धि गरिएको छ भने १५ सयदेखि २ हजार सीसीसम्मका सवारी साधनमा १० प्रतिशत, २ हजारदेखि २५ सय सीसीसम्मको गाडीमा १५ प्रतिशत र २५ सय सीसीभन्दा माथीको सवारी साधनमा ३० प्रतिशतले अन्तशुल्क वृद्धि गरेको छ । भने ३ हजार सीसीकाे गाडीमा ४० प्रतिशतसम्म वृद्दि गरेकाे छ ।
‘बैंकले लगानी नगर्दा समस्यामा रहेको अटोमोवाइल क्षेत्र अब अन्तशुल्कको कारण उठ्नै नसक्ने अबस्थामा पुग्यो’ नाडाका निर्वतमान अध्यक्ष अञ्जन श्रेष्ठले मेरोअटोसँग भने ।
सरकारले अहिले बढाएको अन्तशुल्क अनुसार २५ सय सीसीमाथीका सवारी साधनको मूल्य २० लाखभन्दा बढी महंगिने देखिन्छ ।
१ हजार सीसीभन्दा कमका सवारीसाधनमा कुनै मूल्य परिर्वतन हुने छैन । १ हजार सीसीमाथीका सवारी साधनको मूल्य १ लाखभन्दा बढी बढ्ने देखिन्छ । त्यसैगरी १५ सय सीसीमाथिका गाडी ३ लाखसम्म र २ हजारसीसी भन्दा माथीका सवारीसाधन ६ लाख रुपैयाँ भन्दा बढीले महंगो हुने अनुमान गर्न सकिन्छ । ३ हजार सीसी भन्दा माथिकाे कारमा अब ५० लाखभन्दा बढी महंगाे भयाे ।
यस्तो छ वर्तमान अबस्था
हालको व्यबस्था अनुसार सवारीसाधनको आयात मूल्यमा ८० प्रतिशत भन्सार त्यसपछिको जोड मूल्यमा ६० प्रतिसत अन्तशूल्क लाग्दै आएको थियो । यसलाई बुझने भाषामा लेख्दा १०० रुपैयाँको सवारी साधन हो भने त्यसमा ८० रुपैयाँ भन्सार लाग्छ । जुन जोड्दा १८० रुपैयाँ हुन्छ । त्यो १८० रुपैयाँमा ६० प्रतिशत अन्तशूल्क लाग्दै आएको थियो । अब यो ६० प्रतिशत बढेर १०० प्रतिशतसम्म पुगेको छ ।