३२ देखि ३६ लाख मूल्यका तीन इलेक्ट्रीक कार, कुन किन्दा बढी फाइदा

काठमाडौं । अहिले बजारमा विद्युतीय कारमा धेरै छनोट उपलब्ध भएका छन् । मूल्यका हिसावले १५ लाखदेखि २ करोड ३० लाखसम्मका विद्युतीय कार उपलब्ध भएपनि सबैभन्दा धेरै ईभी ५० लाखदेखि ७० लाख मूल्यका बिक्री भएका छन् ।

विगतमा  फेमिली कारको रुपमा धेरै मानिसले ३० लाखदेखि ४० लाख मूल्यका कार धेरै प्रयोग गरेका थिए । मध्यम आयस्रोत भएका परिवारको लागि उपयुक्त यो सेग्मेन्टमा इलेक्ट्रीक कारमा पनि धेरै छनोट पाउन सकिन्छ ।

अहिले बजारमा टाटादेखि बीवाइडीसम्मका ब्राण्डले इलेक्ट्रीकमा ४० लाखभन्दा कम मूल्यका गाडी उपलब्ध गराएका छन् । तर, यहाँ हामीले यी दुई ब्राण्ड बाहेकका अन्य कम्पनीले उपलब्ध गराएका विद्युतीय कारको बारेमा चर्चा गरेका छौं ।

यहाँ चर्चा गरिएका तीनवटै कारको मूल्य ३२ लाखदेखि ३६ लाख भित्रै रहेका छन् ।

सिट्रोन इसीथ्री : फ्रेन्च अटोमोवाइल कम्पनी सिट्रोनको इलेक्ट्रीक मोडल ईसीथ्री सब फोर मिटर क्रसओभर मोडल हो । भारतमा उत्पादन भएको ईसीथ्री साँग्रिला मोटर्सले बिक्री गर्दै आएको छ ।

नयाँ अपग्रेड भएर आएको साइन भेरियन्टसँगै मूल्य पनि एक लाख रुपैयाँले बढेको छ । सिट्रोन साइन भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

फ्रेन्च कम्पनीले भारतमा बनाएको इसीथ्री मा २९.२ किलोवाट आवरको ब्याट्रीप्याक र ४२ किलोवाटको इलेक्ट्रीक मोटर छ । यसलाई फुल चार्ज गर्दा सहजै २३० किलोमिटरसम्म चलाउन सकिन्छ । तर, एआरएआईका अनुसार ३१५ किलोमिटरसम्म रेन्ज पाउन सकिन्छ । रेन्जको हिसावले ठिकठाक इसीथ्रीको बलियो पक्ष साइज हो । सब फोर मिटर एसयूभी सरहको साइजमा उपलब्ध कारमा विश्व प्रसिद्ध सस्पेन्स पाउन सकिन्छ ।

नेटा भीः रेन्जका कारण निकै चर्चा पाउन सफल नेटा भी नेपाली बजारमा सफल मोडल मानिन्छ । क्रसओभर डिजाइन, ३५० किलोमिटर हाराहारी रेन्ज र प्योर इलेक्ट्रीक प्लेटफर्म यसको बलियो पक्ष हो ।

नेटा भीमा ४०.७ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । नयाँ ब्याट्रीले ४० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको कम्पनीको दावी छ ।

नेटा भीको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ । तर, गाडी किन्ने ग्राहकलाई ३ देखि ५ लाखसम्म नगद छुट दिदै आएको बुझिएको छ ।

विलिङ विङ्गोः सानो ह्याचव्याक कार विङ्गो क्लासिक डिजाइनमा उपलब्ध छ । यसको डिजाइनकै कारण धेरैले चर्चा गर्छन् । यहाँ चर्चा गरिएका कार मध्ये सबैभन्दा सस्तो मोडल विङ्गो नै हो । पारामाउन्ट मोटर्सले यसलाई ३१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ ।

यसको साइज पनि सिट्रोन इसीथ्री समान छ । हाइट भने कम छ । यसमा ३१.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक पाउन सकिन्छ । यसको मोटर साइज भने ४९ किलोवाट क्षमताको छ ।


Back_to_top