बुलेटको सस्तो मोडल बारे थाहा पाउनुस् ५ तथ्य, नेपालमा कति पर्ला मूल्य

काठमाडौं । रोयल इन्फिल्डले सस्तो मूल्यमा आउने बुलेट ३५० एक्स र इएस–एक्स–३५० बिक्री सुरु गरेको छ । एउटै इन्जिनमा भएपनि पुरानो रेगुलर मोडलभन्दा भारतीय बजारमा २० हजार भारतीय रुपैयाँ सस्तोमा नयाँ बाइक सार्वजनिक गरेको हो ।

भारतमा पछिल्लो समय क्रमिकरुपमा अटो क्षेत्र ओरालो लागिरहेको छ । यस्तोमा आफ्नो बजार हिस्सा गुमाउँदै गएको रोयल इन्फिल्डले त्यसलाई रोक्न सस्तो मोडल ल्याएको हो । 

नेपाली बजारमा लामो यात्रामा निस्कनेहरुको रोजाईमा पर्ने गरेको यो मोटरसाइकल आर्थिक वर्ष २०७४/७५ मा करिब ६ हजार यूनिट बिक्री गरिएको थियो । सरकारले आर्थिक वर्ष २०७५/७६को बजेटले ठूला मोटरसाइकलमा अन्तःशुल्क र सडक दस्तुरमा व्यापक वृद्धि गरेसँगै बुलेटको बिक्रीमा करिब ५० प्रतिशतले गिरावट आएको आधिकारीक वितरक एमभी दुगर्ड स्रोतले जनाएको छ । 

यस्तोमा नयाँ आएको सस्तो मूल्यका बुलेटमा ग्राहकको कस्तो आकर्षण रहेन छ त्यसको उत्तर पाउन भने केही समय कुर्नु पर्नेछ । 

यस्तोमा हामीले ग्राहकलाई आकर्षण गर्न सक्ने नयाँ बुलेटका केही तथ्य राख्ने प्रयास गरेका छौं ।

मूल्य

मूल्यको हिसावले पुरानो मोडलभन्दा सस्तो रहेको बुलेट ३५० एक्स नेपाली बजारमा करिब ४ लाख रुपैयाँ हाराहारीमा बिक्री हुने अनुमान गर्न सकिन्छ । अहिले नेपाली बजारमा बिक्री भइरहेको क्लासिक ३५० स्टायडर्ड मोडलको मूल्य ४ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

कस्तो फरक

झट्ट हेर्दा रेगुलर बुलेट र नयाँ बुलेट ३५० एक्समा केही भिन्नता देखिदैन । तर, कम्पनीले नयाँ बाइकलाई फरक बनाउन भने निकै प्रयास गरेको छ । यसमा देखिने ठूलो भिन्नता कलर अप्सनमा हो । सिमित अप्सनमा आउने कलरबाट थप गरेर नयाँ मोटरसाईकल धेरै कलरमा उपलब्ध रहेको छ ।

फिउल ट्याङ्कमा रहेको नयाँ ग्राफिक्सले मोटरसाइकललाई रेगुलर मोडलको तुलनामा भिन्न बनाएको छ । ‘पोष्ट वार’ झल्काउने ग्राफिक्स र थ्रिडी ब्यागेजले मोटरसाइकललाई नयाँ बनाएको छ ।

कलर

पहिलो पटक रोयल इन्फिल्डले ६ कलर अप्सनमा एक्स मोडल ल्याएको छ । कम्पनीले एक्स मोडललाई बुलेट सिल्भर, व्ल्यू, व्ल्याक कलरमा ल्याएको छ भने इएस–एक्स मोडललाई रिगल रेड, रोयल एन्ड जेट व्ल्याक र रोयल व्ल्यू कलरमा उपलब्ध गराएको छ ।

इन्जिन

कम्पनीले यसमा रेगुलर मोडल बुलेटकै ३४६ सीसी सिंगल सिलिन्डर इन्जिन दिएको छ । उक्त इन्जिनले १९.८ बीएच पावर र २८ एनएम टर्क प्रदान गर्नेछ ।

जसलाई कम्पनीले सिंगल च्यानल एबीएस सहित बजारमा ल्याएको छ । 

प्रतिस्पर्धी

मूल्यका हिसावले हेर्ने हो भने टीभीएस अपाची आरटीआर २०० फोर भी, यामाहा एमटी १५ सँग यसको सिधा प्रतिस्पर्धा हुनेछ । 


Back_to_top