बुटवलमा सडक मिचेर बनाइएका घर भत्काउन शुरु

बुटवल ।  बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घर संरचना आजदेखि पुनः भत्काउन थालिएको छ । 

सडक विस्तारको जिम्मा पाएको बुटवल बेलहिया व्यापारिक सडक विस्तार आयोजनाले आजदेखि पुनः सडकको ८२ फुटभित्रका घर भत्काउन थालेको हो । आयोजनाले मिलनचोकदेखि ट्राफिक चोकसम्मका ठाउँठाउँका करिब ७० घर डोजर लगाएर भत्काएको छ । 

यसअघि वैशाख ४ गते आयोजनाले सडक किनारका घर भत्काउन शुरु गरेको थियो । त्यतिबेला स्थानीयवासीले एक साताभित्र आफैँ घर भत्काउने प्रतिबद्धता जनाएपछि आयोजनाका कर्मचारी दुई÷तीनवटा घर सामान्य रुपमा भत्काएर फर्केका थिए । एक सातासम्म बाँकी घर भत्काउन घरघनीले शुरु नगरेपछि आज पुनः आयोजनाका कर्मचारी डोजर र सुरक्षकर्मीसहित सडक किनारका घर भत्काउन आएका हुन् । 

बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर क्षेत्रमा सडक मिचेर बनाइएका ३११ घर हटाउन आयोजनाले पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि डोजर लगाइएको सडक आयोजनाका इन्जिनियर गोविन्दकुमार श्रेष्ठले बताए।

बुटवल राजमार्ग चौराहादेखि बेलहियासम्मको सडक निर्माणाधीन अवस्थामा रहेकाले सोहीअनुसार बुटवल चौराहादेखि चिडियाखोलासम्मको मुख्य बजार क्षेत्रको सडक छ लेन बनाउन आयोजनाले काम थालेको हो । 

यो क्षेत्रमा ३११ घरहरू भत्काउनुपर्ने अवस्थामा छन् । तीन वर्षअघिदेखि आग्रह गर्दै आएकामा अहिलेसम्म जम्मा २५ वटा घरमात्र घरधनीले भत्काएका छन् ।

सडक आयोजनाका अनुसार ८२ फुट कायम हुने राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक हाल ७५ फुट रहेकामा अब ८२ फुट कायम हुनेछ । 

सडक विस्तार आयोजनामा ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाइडर, दुवैतर्फ साढे १० मिटर चौडाइ भएको मुख्य लेन र त्यसभन्दा बाहिर छ÷छ मिटरको सर्भिस लेन हुनेछ । सडक विस्तार  ४३ करोड २३ लाखमा द कन्चनजंगा विरुवा जेभी कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको आयोजनाका इन्जिनियर श्रेष्ठले जानकारी दिए । 

उनले सडक विस्तारको काम ३० महिनामा सक्ने सम्झौता भएपनि घरधनीहरुको अवरोध, अदालतमा मुद्दा टुंगो नलाग्नु जस्ता कारणले करिब एक वर्ष ढिलो काम शुरु भएकाले समयभन्दा केही पछि जानसक्ने बताए । 


Back_to_top