काठमाडौं । बीवाइडीको सफल मोडल डल्फीन नेपाल आएको एक वर्ष भएको छ । साइमेक्स इंकले अघिल्लो वर्षको नाडा अटो शो २०२३ बाट यसको बुकिङ खुला गरेपनि दशैंपछि डेलिभरी सुरु गरेको थियो ।
झण्डै एघार महिनाको अवधिमा बीवाइडीले डल्फीन १ हजार ३११ यूनिट आयात गरेको देखिन्छ । कम्पनीले २०८० असोजदेखि २०८१ भदौ अन्तिमसम्ममा उक्त संख्यामा डल्फीन आयात गरेको हो ।
लामो साइज, फिचर लोडेड र उत्कृष्ट रेन्जको कारण डल्फीन मनपराइएको मोडल हो । बीवाइडीको ब्लेड ब्याट्री र सडक सुहाउँदो ७० किलोवाट क्षमताको मोटरका कारण यसको पर्फमेन्स उत्कृष्ट छ । त्यसैले यसलाई किनेर आफ्नो ग्यारेजमा सजाउने धेरैको चाहना बुझिन्छ ।
बीवाइडी डल्फीनको लम्बाई ४२९० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । प्रिमियम ह्याचव्याक सेग्मेन्टमा उपलब्ध कार मध्ये यसको साइज ठूलोमा पर्छ ।
डल्फीन ह्याचव्याकमा ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
इलेक्ट्रीक ह्याचब्याक डल्फीनले ६० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । एसी चार्ज भने ७ किलोवाटसम्मको प्रयोग गर्न सकिन्छ । आकर्षक ग्लोज अफ ग्रिल, सबै एलइडी लाइट प्रयोग भएको डल्फीनमा १६ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।
साइमेक्स इंकले यसको मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकेर अहिले बिक्री गर्दै आएको छ । बजेट अगाडिसम्म यसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ थियो ।