काठमाडौं । सन् २०२४ को ११ महिनामा बीवाइडीले ३७ लाख ५७ हजार ३३६ यूनिट कार बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ । कम्पनीले नोभेम्बर महिनाको बिक्री सार्वजनिक गर्दै ११ महिनामा उक्त संख्या बिक्री गरेको जानकारी दिएको हो ।
अक्टोबरमा पहिलो पटक ५ लाख २ हजार यूनिट कार बिक्री गरेको बीवाइडीले नोभेम्बरमा ५ लाख ६ हजार यूनिट कार बिक्री गरेको हो । लगातार दुई महिना कम्पनीले ५ लाखभन्दा धेरै कार बिक्री गर्न सफल भएको हो ।
बीवाइडीले सन् २०२३ को ११ महिनाको तुलनामा यस वर्ष ४० प्रतिशतले बिक्री बढाएको छ । सबैभन्दा धेरै चासो रहेको बीवाइडीको विद्युतीय कारको बिक्री यस वर्षको ११ महिनामा १५ लाख ५७ हजार २५८ यूनिट भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १२.५१ प्रतिशतले बढी हो ।
हाइब्रिड कारको बिक्रीमा आक्रमक रहेको बीवाइडीले ११ महिनामा २१ लाख ८३ हजार यूनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको ११ महिनाको तुलनामा ६९.४५ प्रतिशतले बढी हो । कम्पनीले ११ महिनाको अवधिमा ३ लाख ६० हजार यूनिट कार निर्यात गरेको जनाएको छ ।

