काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले १०० किलोवाट क्षमताको मोटरमा आयोनीक-५ बुकिङ लिइरहेको छ । कम्पनीले सन् २०२५ को सुरुवातमै डेलिभरी दिनेगरी आयोनीक-५ को बुकिङ लिइरहेको हो ।
कम्पनीले १०० किलोवाटको मोटर भएको आयोनीक-५ को मूल्य ९२ लाख ९६ हजार तोकेर बुकिङ लिइरहेको हो । उक्त मूल्यमा आयोनीक-५ किन्ने मानिसले १८ लाख ५९ हजार २०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाएर गाडी लिन सक्नेछन् ।
अहिले बैंकहरुले ७ वर्षसम्म परिवर्तन नहुँने ब्याजदर नै ८ प्रतिशत हाराहारी लगाएका छन् । त्यहि ८ प्रतिशत ब्याजदरमा आयोनीक-५ किन्ने हो भने मासिक १ लाख १६ हजार रुपैयाँ हाराहारी किस्ता तिर्नु पर्ने हुन्छ । उक्त मासिक किस्ता ८४ महिनाको हुनेछ ।
हुन्डाईको विश्वभर चर्चा कमाइ रहेको आयोनीक-५ निकै आकर्षक फिचर, फ्यूचरस्टीक डिजाइन र उत्कृष्ट रेन्जको कारण चर्चामा रहेको मोडल हो । अन्तर्राष्ट्रिय बजारमा थुप्रै भेरियन्टमा उपलब्ध आयोनीक-५ नेपालमा भने ५८ किलोवाट आवर क्षमताको ब्याट्रीमा उपलब्ध छ । डब्लूएलटीपीका अनुसार यसले ३५० किलोमिटर रेन्ज दिन्छ ।
तिब्र गतिको फास्ट चार्जर सपोर्ट गर्ने आयोनिक-५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको हो ।
आफ्नो आवश्यकता अनुसार पूर्ण फोल्ड गर्न मिल्ने सिट, अगाडि र पछाडि सार्न मिल्ने आमरेष्ट, ३० प्रतिशत पातलो सिट, रिसाइकल गरिएको प्लास्टीक वोटल र फेब्रिकबाट बनेको इन्टेरियर यसको मूल्य विशेषता हो ।
हुन्डाईले ३००० एमएमको लामो ह्वीलबेस दिएको कारण आयोनीक-५ निकै स्टेवल र आरामदायी रहेको छ ।