कति पुग्यो एटो वान र एटो टुको आयात ?, फराकिलो लिड बनाउँदै बीवाइडी

काठमाडौं । साउन अन्तिमबाट बुकिङ खुला भएको बीवाइडीका दुई मोडल तीव्र गतिमा आयात भइरहेका छन् । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यी दुवै कार राम्रो संख्यामा आयात गरेको हो ।

असोज महिनामा यी दुवै मोडल मिलाएर ९५८ युनिट आयात भएको देखिन्छ । जसमा एटो टु मोडलको आयात ५२२ युनिट र एटो वानको आयात ४३६ युनिट छन् ।

दुवै नयाँ मोडललाई किन्न चाहनेहरू थपिँदै छन् । खासगरी २८ लाख ९५ हजार रुपैयाँबाटै एटो वान र ४३ लाख ९९ हजार मूल्य तोकेर एटो टु बिक्री सुरू भएको कारण बजेट कार खोज्नेको रोजाइमा यी दुवै मोडल परेका हुन् ।

बीवाइडी एटो वान दुई भेरियन्टमा उपलब्ध छ । डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९० हजार हो भने प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ । यी दुई भेरियन्टमा ब्याट्री साइज पनि फरक छ । मोटर भने समान ४५ किलोवाटको पाउन सकिन्छ ।

एटो वानमा ३० र ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ । ठूलो ब्याट्रीले ३०० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टमा प्रमाणित छ । जुन हाम्रो सहरी क्षेत्रमा चलाउँदा पनि पाउन सकिन्छ ।

बीवाइडी एटो टु २०० एमएम ग्राउण्ड क्लियरेन्स भएको एसयूभी हो । कम्पनीको इन्ट्री मोडल एसयूभीको रूपमा आएको एटो टुमा ५१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । जसको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर छ ।

कम मूल्यमा इलेक्ट्रीक एसयूभी खोज्नेहरूको लागि उत्तम विकल्पको रूपमा आएकै कारण यसको आयात पनि तीव्र गतिमा भएको अनुमान गर्न सकिन्छ ।

साढे ९ महिनामा कति ल्यायो बीवाइडीले कार

सन् २०२५ जनवरी देखि अक्टोबर १५ तारिखसम्म बीवाइडीले २ हजार ४३६ युनिट कार आयात गरेको देखिन्छ । जसमा सबैभन्दा धेरै डल्फिन ह्याचब्याक कार ५८५ युनिट छ । त्यसैगरी, एटो थ्री ५३१ युनिट, एटो टु ५२२ युनिट, एटो वान ४३६ युनिट, सिलायन २२१ युनिट र एम सिक्स १४१ युनिट आयात गरेको हो ।

प्यासेन्जर कार सेग्मेन्टमा बीवाइडीले अन्य प्रतिस्पर्धी माथि राम्रै संख्यामा लिड लिइरहेको देखिन्छ ।


Back_to_top