काठमाडौं । सडक डिभिजन काठमाडौंले रुग्ण ४८ सडक र पुलको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।
सडक डिभिजनले लामो समयदेखि ताकेता गर्दा पनि भौतिक प्रगति सन्तोषजनक नभएको भन्दै ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।
सडक डिभिजनले एकैपटक ५७ वटा निर्माण कम्पनीलाई किन ठेक्का नतोड्ने भन्दै १५ दिने स्पष्टीकरण सोधेको हो । साथै, ठेक्का अन्त्य गर्नु नपर्ने कुनै यथोचित कारण भए १५ दिनभित्र स्पष्टीकरण सहित आधिकारिक प्रतिनिधि स्वयं यस कार्यालयमा उपस्थित हुन भनेको छ।
उक्त अवधिमा चित्तबुझ्दो जवाफ नदिए ठेक्का तोड्ने प्रक्रियामा जाने सडक डिभिजन काठमाडौंले जनाएको छ । ती कम्पनीहरूलाई ठेक्का सम्झौताका शर्तहरू तथा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानुन बमोजिम ठेक्का अन्त्य गरी कालोसूचीमा राखिने डिभिजनको भनाइ छ ।

