काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले ५ रुपैयाँमा किनेको विजुली १५ रुपैयाँ विक्री नगर्न आग्रह गरेका छन् । उनले काठमाडौंको गौरीघाटमा बीवाइडीले संचालनमा ल्याएको सर्भिस सेन्टर तथा चार्जिङ सेन्टरको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
अहिले देशभर संचालनमा रहेका चार्जिङ स्टेशनमा १५ रुपैयाँदेखि २० रुपैयाँ प्रतियूनिट विजुलीको मूल्य लगाइएको कारण उपभोक्ताको गुनासो बढ्दै गएको उनको भनाई थियो ।

प्राधिकरणले प्रतियूनिट ५ रुपैयाँमा उपलब्ध गराएको विजुली १५/२० रुपैयाँमा बेच्नु भएन भन्दै घिसिङले भने ‘अबको युग विद्युतीय सवारीसाधनको भएको र त्यसमा सरकार र सरोकारवाला निकाय प्रतिवद्ध भएर काम गरिरहेका छन् ।’
बीवाइडीले आफ्नो आधिकारीक सर्भिस सेन्टर संचालनमा ल्याएकोमा बधाई दिदै घिसिङले भने, ‘देशभर विद्युतीय सवारीसाधनको माग बढ्दै गएको कारण यस्ता सुविधा सम्पन्न सर्भिस सेन्टर थप निर्माण गर्नु पर्ने हुन्छ । त्यसमा बीवाइडले ध्यान दिओस् ।’

कार्यक्रममा बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नयाँ डिलर नेटवर्क विस्तार अन्तिम चरणमा पुगेको जानकारी दिएकी थिइन् ।
‘नयाँ डिलर नेटवर्कसँगै बीवाइडीको थ्रि एस सेवा उपलब्ध हुन्छ । साथै, चार्जिङ नेटवर्क विस्तारमा पनि सबै डिलर मार्फत काम अगाडि बढेको छ’, श्रेष्ठले भनिन् ।
काठमाडौंको गौरीघाटमा करिब २७ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो सर्भिस सेन्टरमा अहिले ६ वटा वे राखिएको छ । पछि आवश्यकता अनुसार ४ वटा वे थप्न मिल्नेगरी यो स्र्भिस सेन्टर बनेको छ ।


