काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाइडीले जुलाई २ मा सार्वजनिक गरेको आफ्नो नयाँ फ्ल्यागसिप सेडान सील ०८ ले राम्रो संख्यामा बुकिङ पाएको छ । बुकिङ खुला भएको करिब ३० घण्टामै ६५ हजार युनिट बुकिङ पाएसँगै यसले अन्तर्राष्ट्रिय बजारमा पनि चर्चा पाएको छ ।
चीनको अटो बजारसम्बन्धी अनुसन्धानकर्ता एन्डी डिङले सार्वजनिक गरेको डिलर च्यानलको प्रारम्भिक तथ्यांकअनुसार जुन १२ देखि संकलन गरिएका ४० हजार ब्लाइन्ड बुकिङ र मूल्य घोषणा भएपछि थप २५ हजारभन्दा बढी अर्डर प्राप्त भएका छन् ।
बीवाइडीले सिल-०८ को सुरुआती मूल्य १ लाख ९६ हजार ९०० युआन (करिब २८ हजार ९८० अमेरिकी डलर) निर्धारण गरेको छ । ५.१५ मिटर लामो यो लक्जरी सेडानले प्रतिस्पर्धी मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउँदै आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ ।
नयाँ सिल-०८ मा ८०० भोल्टको उच्च(भोल्टेज चार्जिङ प्रणाली र डिसुस ए एयर सस्पेन्सन जडान गरिएको छ । यसको ह्विलबेस ३०३० एमएम लामो छ । सील-०८ को लम्बाइ ५१५० एमएम, चौडाइ १९९९ एमएम र उचाइ १५०५ एमएम छ ।

प्रारम्भिक अर्डरमध्ये ६५ प्रतिशतभन्दा बढी ग्राहकले पूर्ण विद्युतीय मोडल रोजेका छन् । विशेषगरी अल ह्विल ड्राइभ फ्ल्यागसिप भेरियन्ट सबैभन्दा बढी मागमा भएको छ । दुईवटा विद्युतीय मोटरबाट ५१० किलोवाट सम्मको शक्ति उत्पादन गर्ने सील-०८ ले ०-१०० किमि प्रतिघण्टा गति केवल ३.३ सेकेन्डमा पूरा गर्छ । यसले सीएलटीसी मापदण्डअनुसार ९०५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
बुकिङ राम्रो पाएपनि उच्च क्षमताका कम्पोनेन्टको सीमित उपलब्धताका कारण यही संस्करणको डेलिभरी अवधि सबैभन्दा लामो हुने बताइएको छ ।
बीवाइडीले प्लगइन हाइब्रिड संस्करण पनि सील ०८ उपलब्ध गराएको छ। यसमा ४०० किलोमिटर शुद्ध विद्युतीय रेन्ज र १६६० किलोमिटरसम्मको संयुक्त ड्राइभिङ रेन्ज उपलब्ध हुने कम्पनीले जनाएको छ ।


