काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले आगामी शुक्रबारबाट नयाँ प्रिमियम कार सिलको बिक्री सुरु गर्ने भएको छ । कम्पनीले बिक्री सुरु गर्न लागेको सिल नाडा अटो शो २०२३ मा प्रदर्शनी गरेको थियो ।
बीवाइडीको सबैभन्दा प्रिमियम मोडल सिललाई विभिन्न तीन भेरियन्ट नेपाल ल्याउन लागेको हो । सिलको डाइनामिक, प्रिमियम र पर्फमेन्स भेरियन्ट नेपाल आउने छ । यी तीनवटै भेरियन्टमा ठूलै अन्तर पाउन सकिन्छ ।
सिल मोडल निकै आकर्षक र प्रिमियम फिचर भएको सेडान कार हो । निकै लामो र फराकिलो बनोटको कारण यसले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।
सिलको सबैभन्दा सस्तो भेरियन्ट डाइनामिक हुनेछ । यसमा ६१.४४ किलोवाट आवरको ब्लेड ब्याट्री र १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ ।
यसमा रहेको ब्याट्रीलाई फुलचार्ज गर्दा ४६० किलोमिटरसम्म गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा रहेको मोटरको सहायताले सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन केबल ७.५ सेकेन्ड मात्रै लगाउने छ ।
रियर ह्वील ड्राइभ अप्सनमा आउने डाइनामिक भेरियन्टमा १८ इन्चको अलोय ह्वील, १५.६ इन्चको रोटेड टचस्कृन जस्ता फिचर पाउन सकिन्छ । यसमा बुट स्पेश भने ४५० लिटर क्षमताको छ ।
त्यसैगरी सिलको दोस्रो भेरियन्ट प्रिमियम हो । यसमा ८२.५६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ । यसलाई सिंगल चार्ज गर्दा ५७० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा २३० किलोवाट आवरको इलेक्ट्रीक मोटर जडान भएको छ ।
कम्पनीले यसमा डाइनामिक भेरियन्टकोभन्दा १ इन्च ठूलो ह्वील दिएको छ । यसमा रहेको १९ इन्चको अलोय ह्वीलले यसको प्रिमियमनेसलाई थप बलियो बनाएको छ ।

डाइनामिक भेरियन्टभन्दा केहि बढी कर्भ वेट भएको प्रिमियम भेरियन्ट पनि रियर ह्वील ड्राइभमा उपलब्ध हुनेछ । यसमा १५.६ इन्चको रोटेड टचस्कृन पाउन सकिन्छ ।
बीवाइडी सिलको टप भेरियन्ट पर्फमेन्स हो । नामले नै यसको पावरलाई झल्काउँछ । कम्पनीले यो भेरियन्टलाई अल ह्वील ड्राइभ सिस्टममा ल्याउने छ ।
यसमा ३९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । नेपालमा उपलब्ध सबैभन्दा पावरफुल इलेक्ट्रीक कार बन्ने देखिन्छ । यसले केबल ३.८ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्नेछ ।
अल ह्वील ड्राइभ र ठूलो मोटर भएको कारण यसमा रहेको ८२.५६ किलोवाट आवरको ब्लेड ब्याट्रीलाई फुल चार्ज गरेर चलाउँदा ५२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
मोटर पावरको आधारमा फरक कर लाग्ने भएको कारण यसको मूल्य १ करोड देखि २ करोड माथिसम्म पर्न सक्ने देखिन्छ । सिलको टप भेरियन्टमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क लाग्ने भएको कारण यसको मूल्य २ करोड माथि पुग्ने अनुमान गर्न सकिन्छ ।

