काठमाडौं । होजोन मोटर्सले मलेशियामा नयाँ प्लान्ट लगाउने भएको छ । कम्पनीले आफ्नो तेस्रो अन्तर्राष्ट्रिय प्लान्ट मलेशियामा सिलान्यास गरेको हो ।
कम्पनीले गत शुक्रबार मलेशियाको नेगेरी सेम्बीलाइनमा नयाँ प्लान्टको शिलान्यास गर्दै उक्त प्लान्टबाट सन् २०२५ बाट नेटा ब्राण्डका विद्युतीय कार उत्पादन गर्ने योजना बनाएको छ । नयाँ प्लान्टको वार्षिक उत्पादन क्षमता भने खुलाएको छैन ।
नेटाले थाइल्याण्डमा आफ्नो पहिलो ओभरसिज प्लान्ट बनाएको थियो । उक्त प्लान्टबाट उत्पादन सुरु भइसकेको छ । त्यस्तै नेटाको इन्डोनेशियामा पनि उत्पादन प्लान्ट निर्माण भइरहेको छ ।
नेटाको थाइल्याण्ड प्लान्टको वार्षिक क्षमता २० हजार यूनिट रहेको छ । उक्त प्लान्टबाट राइट ह्याण्ड ड्राइभ कार चाहिने देशहरुमा निर्यात समेत हुँदै आएको छ ।

नेटाले सन् २०२३ मा २० हजारभन्दा धेरै विद्युतीय कार निर्यात गरेको छ । यो संख्या अघिल्लो वर्षको भन्दा ५६७ प्रतिशतले बढि हो । कम्पनीले सन् २०२४ मा विश्वको ५० देशमा ५०० भन्दा बढि शोरुम निर्माण गर्ने योजना बनाएको छ ।
नेटवर्क विस्तारसँगै कम्पनीले सन् २०२४ भित्रै कम्तीमा ४ वटा नयाँ ग्लोबल मोडल बजारमा ल्याउने छ ।
नेटाले सन् २०२३ मा १ लाख २७ हजार ४९६ यूनीट विद्युतीय कार बिक्री गरेको छ । यो संख्या नेटाको अघिल्लो वर्षको बिक्रीको तुलनामा करिब १७ प्रतिशतले कम हो ।

