काठमाडौं । चीनको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल निर्माता बीवाइडीले सन् २०२२ मा १८ लाख ६८ हजार ५४३ यूनीट गाडी विक्री गर्न सफल भएको छ । कम्पनीले विक्री गरेको आंकडामा ९ लाख ११ हजार १४० पूर्ण ब्याट्री इलेक्ट्रीक भेहिकल र ९ लाख ४६ हजार २३९ यूनीट प्लगइन हाइब्रिड मोडल हो ।
सन् २०२१ को तुलनामा १५२.४६ प्रतिशतले विक्री बढाएको तथ्यांक सार्वजनिक भएको हो । कम्पनीले डिसेम्बर २०२२ मा मात्रै २ लाख ३५ हजार १९७ यूनीट कार विक्री गर्न सफल भएको छ । अघिल्लो वर्षको डिसेम्बरमा ९३ हजार ९४५ यूनीट कार बेचेको कम्पनीले ठूलो परिमाणमा विक्री बढाएको हो ।
बीवाइडीको गत महिनाको विक्री हिस्सामा ९९.७५ प्रतिशत प्यासेन्जर भेहिकल रहेको छ । कम्पनीले डिसेम्बरमा ५९९ वटा न्यू इनर्जी कमर्सियल भेहिकल समेत विक्री गर्न सफल भएको छ ।
बीवाइडीले केही महिना अघिबाट दक्षिण एशिया, युरोप, अष्ट्रेलिया, थाइल्याण्ड र जापानमा समेत विक्री सुरु गरेको छ । बीवाइडीको कुल प्यासेन्जर भेहिकलको विक्रीमा डिसेम्बरमा मात्रै ११ हजार ३२० यूनीट ओभरसिज मार्केटबाट प्राप्त भएको देखिन्छ । यो वर्ष बीवाइडीले ५५ हजार ९१६ यूनीट निर्यात गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ३०७.२ प्रतिशतले बढी हो ।


