माघको दोस्रो हप्ताबाट नयाँ गाडी आउन थाल्ने

काठमाडौं । सरकारले पुस १ गतेबाट गाडी माथि लगाएको आयात प्रतिबन्ध फुकुवा गरेको भएपनि नयाँ मोडलहरुको आयात भने माघको दोस्रो साताबाट मात्रै सुरु हुने भएको छ ।

मुख्यत पुसमा एलसी खोल्दा २०२२ डिसेम्बर महिनाको उत्पादन नै ल्याउनु पर्ने भएकाले अधिकांश कम्पनीले २०२३ का मोडल ल्याउन जनवरीको मध्यमा एलसी खोज्न आँटेका हुन् । यसरी खोलेको एलसीका गाडी फेब्रुअरी लागेपछि नेपाल आउने छन् ।

सरकारले एलसी खुल्ला गरेको १९ दिन भएपनि अहिलेसम्म खासै एलसी खोल्न ब्यवसायीले जाँगर देखाएका छैनन् । विभिन्न बैंकका कर्जा विभाग प्रमुखहरुसँग कुरा गर्दा अधिकांश ब्यवसायीले एलसी खोल्न आवश्यक छलफल गरेपनि प्रक्रिया पुरा गरेका छैनन् ।

‘एलसी खोल्ने प्रक्रिया सुरु भएको छ । फाइनल एलसी दिइसकेको अवस्था छैन । जनवरी १० पछि धेरै एलसी जाने देखिन्छ’, एक बैंकर्सले भने ।

गाडी विक्रेता पनि पर्ख र हेरको अवस्थामा छन् । निसानको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पका डिजीएम ज्ञानेन्द्र चन्द भन्छन्, ‘एलसी खोल्न हातारिएका छैनौं । नयाँ वर्ष लागेपछि नयाँ सालमा नै उत्पादन भएको गाडी खोज्ने ग्राहक आउँछन् । अहिले ल्याउँदा पुरानो गाडी भयो भन्छन् । त्यसैले एलसी खोल्ने प्रक्रिया मात्रै सुरु गरेका छौं । खोलिसकेका छैनौं ।’

हुन्डाई, टाटा, महिन्द्रा लगायतका कम्पनीले थोरै गाडीको एलसी खोलेर गाडी मगाएको कम्पनी स्रोतले जानकारी दियो । उनिहरुले आफ्नो चल्तीका केही मोडल ल्याएर सुरुमा विक्री गर्ने योजना बनाएका हुन् ।

यी बाहेक नयाँ गाडी ल्याउने चरणमा रहेका एमजी, स्कोडा, जीप, सिट्रोन, मारुती सुजुकी लगायतका ब्राण्डले पनि एलसी खोल्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिएका छन् ।


Back_to_top