एजेन्सी । विलिङले चिनियाँ बजारमा सबैभन्दा सानो कन्भर्टेवल विद्युतीय कारको विक्री सुरु गरेको छ । कम्पनीले विलिङ मिनी ईभीको ‘क्याब्रियो’ मोडलको विक्री सुरु गरेको हो ।
विलिङले सन् २०२१ को सांघाई अटो शोमा पहिलो पटक देखाएको ‘क्याब्रियो’ कन्भर्टेवल मिनी कारको मूल्य चीनमा १४ हजार डलर तोकेर विक्री सुरु गरेको छ । यो संसारकै सबैभन्दा सस्तो र सानो कन्भर्टेवल इलेक्ट्रीक कार हो ।
विलिङको मिनी कन्भर्टेवल कारको लम्बाई केवल ३०५९ एमएम, चौडाई १५२१ एमएम र उचाई १६१४ एमएम रहेको छ । यसमा २०१० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।
नयाँ मिनी कारमा नयाँ डिजाइनको डे टाइम रनिङ लाइट, सिटको पछाडि दिइएको रोलबार, ढोकाको तल्लो भाग आवश्यकता अनुसार राख्न र झिक्न मिल्ने सुविधा पाउन सकिन्छ ।
कम्पनीले यसमा २६.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यो ब्याट्री ग्वान्जाओ ग्रेट पावर इनर्जी एण्ड टेक्नोलोजी कम्पनीले उत्पादन गरेको हो । उक्त ब्याट्रीले सिंगल चार्जमा २८० किलोमिटर रेन्ज दिने सिएलटीसी टेस्टले प्रमाणित गरेको छ ।
विलिङको दावी अनुसार यसमा हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरिएको छ । साथै, सुरक्षाको लागि दुई एयरव्याग, अटोमेटीक लकिङ, एबीएस, इबीडी जस्ता फिचर उपलब्ध रहेका छन् ।

