काठमाडौं । मादक पदार्थ सेवन गरेर गाडी चलाएकै कारण विश्वभर वार्षिक हजारौ सवारी दुर्घटना हुने गरेका छन् । यस्तो दुर्घटनाका कारण गाडी चलाउने चालक मात्र नभई अन्य सवारी साधनमा रहेका यात्रु तथा फुटपाथमा हिडिरहेका मानिसको समेत ज्यान जाने गरेको छ ।
धेरै देशमा ‘ड्रिक एण्ड ड्राइभ’ गर्नेलाई कडा सजायको व्यवस्था गरिएको छ । तर, अधिकांश विकशित देशहरुले यस्तो ड्राइभलाई एक लिमिटसम्मको प्रयोगलाई मान्यता दिएको पनि पाइन्छ । देश अनुसार जतिसुकै कडा व्यवस्था गरिएको भएपनि ड्रिक एण्ड ड्राइभका कारण दुर्घटनाहरु भैरहेका छन् ।
चालकहरुले धेरै गल्ती गर्न थालेसँगै गाडी निर्माता कम्पनीहरुले नै यसलाई नियन्त्रण गर्ने प्रविधि विकासमा काम गरिरहेका छन् । अब छिट्टै मध्यपान गरेको चालकको पहिचान गर्ने प्रविधि विकास हुने भएको हो । मिडिया रिपोर्टहरुका अनुसार अब कारमा यस्तो प्रविधि जडान हुनेछ जसले ड्रिक गरेका चालकले सवारी चलाउन खोज्दा कार अगाडि नै बढ्दैन ।
कस्तो हो त यो टेक्नलोजी ?
एक रिपोर्टका अनुसार अमेरिकामा विकास भईरहेको यो टेक्नोलोजीले मदिरापान गरेको चालकलाई डिटेक्ट गर्छ र यस्तो व्यक्तिले सवारी साधन चलाउन खोज्दा अन्य व्यक्तिलाई समेत जानकारी गराउने अलार्म बज्ने छ ।
यो टेक्नलोजीको प्रयोगपछि चालकको अनुहार र शरिरको हाउभाउको आधारमा कारले मदिरापान गरेको पत्ता लगाउनेछ र अलार्म बज्न थाल्छ । यदि मदिरापान गरेको चालकले अझै पनि सवारी चलाउन खोजेमा कार आफै राकिनेछ ।
मदिरापान पछि चालकलाई के हुन्छ ?
धेरै जसो व्यक्तिहरु मदिरापान पछि होसमा नहुन सक्छन् । त्यसैले चालकले गाडीको कन्ट्रोल गुमाउने र दुर्घटना हुने गरेको छ । कहिले काँही मदिराले चालकलाई उत्तेजीत बनाउने र कार ओभर स्पीडमा चलाएर दुर्घटना गराएको पनि पाइन्छ ।
मदिरा सेवनपछि चालकको निर्णय गर्ने क्षमता कमजोर हुन्छ । मदिरा सेवन गरेको अवस्थामा मानिसको आखाँले देख्न सक्ने क्षमता समेत कमजोर हुन्छ । सडकमा सवारी साधन चलाउने चालकले हरेक सेकेन्ड नयाँ निर्णय लिनु पर्ने हुन्छ । यस्तोमा मदिरा सेवन गरेका चालकले सक्दैनन् र दुर्घटना हुने गरेको छ ।

