यामाहाले आफ्नो ४ मोडलको उत्पादन बन्द गर्दै

काठमाडौं । यामाहाले आफ्ना विभिन्न ४ मोडलको उत्पादन बन्द गर्ने भएको छ । बजारमा आएको मागको कमीको कारण कम्पनीले आफ्नो उत्पादन बन्द गर्ने भएको हो ।

बीएस फोर मापदण्डमा उत्पादन हुँदै आएका यी मोटरसाइकलमा ग्राहकको आकर्षण नभएपछि कम्पनीले यी ४ वटै मोडललाई बीएस ६ मा अपग्रेड नगर्ने भएको हो ।

उसोत यामाहाले आफ्ना ११० सीसी क्षमताका स्कुटरको उत्पादन बन्द गर्दै सबै ११० सीसीका स्कुटरलाई १२५ सीसीमा अपग्रेड गरेको थियो ।

यस्ता छन् यामाहाले बन्द गर्न लागेका मोडल र तिनको इन्जिन क्षमता ।

यामाहा सलुटो एक्स आर र १२५

यामाहाले आफ्नो ११० सीसी क्षमताको सलुटो आरएक्स र १२५ सीसी क्षमताको सलुटो दुबै मोडलको उत्पादन बन्द गर्ने भएको छ । यामाहाले सबैभन्दा कम मूल्यमा बिक्री गर्दै आएको दुबै मोडलमा आएको मागमा कमी र कम्पनीको फोकस प्रिमियम मोटरसाइकलमा भएकाले यी मोडल बन्द गर्न लागिएको हो ।

कम्पनीले यामाहा सलुटो आरएक्समा ११० सीसी फोर स्टोक, २ भल्भ, सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले ७.४८ पीएस पावर र ८.५ एनएम टर्क प्रदान गर्छ ।

त्यस्तै सलुटो १२५ मा दिइएको १२५ सीसी सिंगल सिलिण्डर एसओएचसी इन्जिनले ८.३ पीएस पावर र १०.१ एनएम टर्क प्रदान गर्छ ।
नेपाली बजारमा पनि यामाहाका उत्पादन मोरङ अटो वर्कले बिक्री गर्दै आएकाृ छ । यस्तोमा यामाहा सलुटो १२५ को मूल्य २ लाख ११ हजार ९०० रुपैयाँ तोकेर कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।

फेजर २५

यामाहाको चर्चित मोटरसाइकल यामाहा फेजर २५ को पनि उत्पादन बन्द हुने भएको छ । कम्पनीले यसलाई पनि बीएस ६ मापदण्डमा अपग्रेड नगर्ने भएको हो ।

यामाहाले नेपाली बजारमा पनि बिक्री वितरण गर्दै आएको फेजर २५ मा २४९ सीसी सिंगल सिलिण्डर, एयरकुल्ड, एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले २०.९ पीएस पावर र २० एनएम टर्क प्रदान गर्छ । यसको मागमा आएको कमीका कारण कम्पनीले यसलाई बन्द गर्न लागेको हो ।

नेपाली बजारमा फेजर २५ को मूल्य ४ लाख १४ हजार ९०० रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।

यामाहा आर थ्री

यामाहाले भारतमा उत्पादन गरेर बिक्री गर्दै आएको आर थ्री प्रिमियम मोटरसाइकलमा पर्छ । तर, कम्पनीले यसको पनि अपग्रेड नगर्ने भएको छ । अहिले बीएस ४ मापदण्डको ३२१ सीसी क्षमताको इन्जिन रहेको आर थ्री नेपाली बजारमा पनि बिक्री वितरण भइरहेको छ ।

आर थ्रीमा दिइएको इन्जिनले ४२ पीएस पावर र २९.६ एनएम टर्क प्रदान गर्छ । यसलाई यामाहाको निकै उत्कृष्ट इन्जिन मानिन्छ । यद्यपी बजारमा आएको मागको कमीका कारण कम्पनीले यो मोडललाई बन्द गर्ने भएको हो ।

नेपाली बजारमा आर थ्रीको मूल्य ९ लाख २४ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री वितरण हुँदै आएको छ ।


Back_to_top