नेपालमा गाडी उत्पादनको तितो विगत र मोट्रेक्सले ल्याएको तरङ्ग

काठमाडौं । दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमा चारपाङ्ग्रे सवारी एसेम्बल प्लान्ट स्थापना गर्ने गरि १० अर्ब ५४ करोड रुपैयाँ एफडीआई ल्याउने प्रस्तावलाई गत साता बसेको लगानी बोर्डको बैठकले स्वीकृत गर्यो । त्यसयता नेपालमा सवारी एसेम्बल फ्याक्ट्री आएको र त्यसले उत्पादन गरेर प्रतिस्पर्धी बन्ने सक्छ वा सक्दैन भन्ने विषयमा व्यापक बहस भइरहेको छ । यस्तै बहस ७/८ वर्षअघि भारतीय सवारी उत्पादक कम्पनी टाटाले नेपालमा सवारी एसेम्बल प्लान्ट स्थापना गर्ने निर्णय गर्दासमेत भएको थियो ।

फाइदाका बीच पनि टाटाले नेपालमा एसेम्बलिङ प्लान्ट किन स्थापना गरेन । यो गम्भिर विषय हो ।

अहिले निर्णय मात्र होइन, एसेम्बल प्लान्ट स्थापनाका लागि नेपाल सरकारले लगानी नै स्वीकृत गर्ने निर्णय गरि सकेको छ । तर, जसले लगानी गर्छु भनेको छ उसले यसको संभाव्यता अध्ययनको कामनै सुरु गरेको छैन । नेपालमै सवारी उत्पादन गर्ने योजना सहित लगानी आउनु सर्वथा स्वागत योग्य र खुसीको कुरा हो । यसले नेपालमै बनेको गाडी चढ्ने नेपालीको चाहना मात्र पुरा गर्दैन ठूलो संख्यामा रोजगारी सृजना गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा व्यवसायीक वातावरण राम्रो बन्दै गएको सन्देशसमेत जानेछ ।

सवारी एसेम्बलका लागि नेपालमा अहिलेको अवस्थामा सबै सपोर्टिभ एक्सोसिरिज समेत आयात गर्नुपर्ने हुन्छ । यस्तोमा आवश्यक सपोर्टिभ इन्डस्ट्री नहुँदा लागत स्वतः बढ्छ ।

प्लान्ट स्थापना गर्ने निर्णयबाट किन पछि हट्यो टाटा  ?

केही वर्षअघि भारतीय गाडी उत्पादक कम्पनी टाटाले नेपालमा एसेम्बल प्लान्ट स्थापना गर्ने निर्णय गरेको थियो । तर टाटाले नेपालको सबै बस्तुस्थितिको विश्लेषण गरि तत्काल स्थापना गर्न नसकिने बतायो र आजसम्म टाटाले यस विषयमा थप बोलेको छैन ।

यदी सरकार साँच्चै नेपालमा गाडी उत्पादन नै गर्न चाहन्छ भने एसेम्बलिङ प्लान्ट स्थापनाका लागि आकर्षक इन्सेन्टिभ दिने घोषणा गर्नुपर्छ । 

टाटा मोटर्सले नेपालमा सवारी एसेम्बलिङ प्लान्टमा जुन लगानी गर्छ, त्यसबाट उसले वेनिफिट नदेखिएको हुनुपर्छ । अर्को कुरा टाटाले नेपालमा प्लान्ट लगाएपछि भारतको बिहार, उत्तर प्रदेशलगायत नेपालसँग जोडिएका प्रान्तहरुमा समेत निर्यात गर्न सक्थ्यो । यो उसका लागि दुई वटा फाइदाको विषय थियो । पहिलो नेपाल सरकारबाट पाउने निर्यात इन्सेन्टिभ र अर्को नेपालसँग जोडिएका प्रान्तमा नयाँ गाडी ल्याउँदा लाग्ने खर्च । यो फाइदाका बीच पनि टाटाले नेपालमा एसेम्बलिङ प्लान्ट किन स्थापना गरेन । यो गम्भिर विषय हो । नयाँ कम्पनीले त्यो पनि तेस्रो मुलुकबाट आएर सवारी एसेम्बलिङ प्लान्ट लगाउन त्यति सहज भने देखिँदैन । उक्त कम्पनीले निर्यात गर्न सक्ने त देखिँदैन नै नेपालमै पनि भारतबाट आएका सवारीसँग प्रतिस्पर्धा गर्न सक्ला वा नसक्ला ? यो पनि सोचनिय कुरा हो ।

उत्पादन लागत प्रतिस्पर्धी हुन सक्ला ?

नेपालमा सवारी एसेम्बलका लागि सबै सामान आयात गरेर ल्याउनु पर्ने अवस्था रहेको छ । सबै वस्तु आयात गरेर सवारी उत्पादन गर्दा आयातीत सवारीसँग प्रतिस्पर्धा गर्न सक्ला ? भन्ने विषय टड्कारो रुपमा अगाडि आउँछ । स्थापित ब्रान्ड प्रति नै उपभोक्ताले धेरै ध्यान दिने गर्छन् । यसको अर्थ नयाँ ब्रान्डले बजार लिन सक्दैनन् भन्ने पनि होइन । त्यसो हुन्थ्यो भने त नयाँ नयाँ स्टार्टअप कम्पनीहरु खुल्ने नै थिएनन् । यद्यपी स्थापित कम्पनीसँग सिधा प्रतिस्पर्धा गर्न नयाँ कम्पनीहरुलाई सहज हुँदैन ।

नेपालमा करिब २४० प्रतिशत कर लागेर आउने सवारीसँग यही बनेको गाडीले प्रतिपर्धा गर्न सक्नेगरी बन्नु पर्छ । उदाहारणका लागि मारुती सुजुकीको अल्टो ८०० सीसीको गाडी हो, जसको मूल्य नेपाली बजारमा १७ लाख हाराहारी रहेको छ । नेपालमा देखिएको मजदुरलगायत अन्य समस्या समाधान गर्दै १७ लाख रुपैयाँमा ८ सय सीसी इन्जिन क्षमताको गाडी किन्न सक्ने अवस्था आउनु पर्छ । यहाँ जमिनको लागतको कुरा गरिएको छैन । जमिन पनि खरिद गर्नु पर्ने हो भने त लागत कहाँ हो कहाँ पुग्ने देखिन्छ ।

यदी सरकार साँच्चै नेपालमा गाडी उत्पादन नै गर्न चाहन्छ भने एसेम्बलिङ प्लान्ट स्थापनाका लागि आकर्षक इन्सेन्टिभ दिने घोषणा गर्नुपर्छ । जसका कारण उत्पादन लागत कम होस् र भारतलगायत मुलुकबाट आउने सवारीसँग प्रतिस्पर्धी मात्र होइन निक्कै सस्तो मूल्यमा गाडी बनोस् ।

गाडी उत्पादनको अनुभव 

नेपालमा चारपांग्रे सवारी अर्थात् कार उत्पादन गर्ने योजनासहित कोरियाली कम्पनी मोट्रेक्सले १० अर्ब रुपैयाँ लगानी गर्नेगरी गरेको प्रस्ताव सरकारले स्वीकृत गरि सकेको छ । सन् २००१ मा स्थापना भएको मोट्रेक्सले विशेषगरि गाडीमा राखिने इन्फोटेनमेन्ट सिस्टम उत्पादन गर्दै आएको छ ।

उक्त कम्पनीले सवारी उत्पादन नगरेको सत्य हो । तर अहिलेको समयमा सबै बस्तु एउटै कम्पनीले उत्पादन गर्नुपर्छ भन्ने छैन । नेपालमा सवारी एसेम्बल गर्छु भनेर आएको मोट्रेक्सले एसेम्बलका लागि आवश्यक पर्ने प्रविधि तथा सामान अन्य कम्पनीसँग हायर गर्न सक्छ । सबैलाई अनुवभ अनिवार्य हुने हो भने स्टार्टअप कम्पनीहरु खुल्ने नै थिएनन् । मोट्रेक्सले समन्वय गरेर अन्य सवारी उत्पादक कम्पनीलाई पार्टनरको रुपमै समेत ल्याउनपनि सक्छ ।

गाडीको बजार सानो तर बढ्दो क्रममा

हाल नेपाली बजारमा वार्षिक २० हजारभन्दा धेरै कार, जिप तथा भ्यान बिक्री हुँदै आएको छ । १० वर्ष अघिसम्म ८/१० हजारको रहेको कार बजार अहिले २० हजार हाराहारीमा पुगेको छ । बजार बढ्दो क्रममा रहेकाले एसेम्बलिङ उद्योग संचालकका लागि फाइदा जनक अवस्था निर्माण भएको देखिन्छ । 

मोटे«क्सले सुरुवातमा वर्षिक २ हजार वटा गाडी उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीले गरेको प्रस्ताव अनुसार सन् २०२१ सम्ममा गाडी उत्पादन गरिसक्ने छ । कम्पनीले वार्षिक २० हजार सवारी एसेम्बल गर्ने क्षमता भएको प्लान्ट लगाउने बताएको छ ।

२०६९ देखि सरकारले सवारीसाधनमा लागु हुदै आएको प्रदूषण स्तर (युरो स्ट्यान्डर्ड) युरो १ बाट युरो ३ लागु गर्यो । जसका कारण नेपालको पहिलो चारपाङ्ग्रे सवारी मुस्ताङको उत्पादन नै बन्द हुन पुग्यो ।   

नेपालमा चारपांग्रे सवारी एसेम्बल गर्ने सफा उद्देश्यसहित मोट्रेक्स आएको हो भने १० अर्बले पुगेन भने उसले लगानी थप्नसमेत सक्छ । यो पनि त्यति ठूलो बहसको विषय बनाइ रहनु जरुरी छैन । भारत तथा चीनको तुलनामा नेपाल सवारी उत्पादकका लागि निक्कै सानो बजार हो । तर पनि नेपालमा सवारी उपभोगको ट्रेण्ड बढ्दै गइरहेको छ र मोट्रेक्सले नेपालमा सस्तो र स्तरिय सवारी एसेम्बल गर्यो भने उसका लागि निर्यातको ढोका सर्वत्र खुल्ला नै रहन्छ ।

मुस्ताङ बन्द, बजाजको औपचारिक घोषणा नहुनु

केही वर्ष पहिले अन्नालिफान मोटरसाइकलको पनि नेपालमा एसेम्बल भएको थियो । तर त्यसले त्यति धेरै चर्चा पनि पाउन सकेन र काम पनि गर्न सकेन त्यो त्यसै सेलायो । त्यसपछि गोल्छा अर्गनाइजेशन अन्तर्गत हुलास कम्पनीले नेपालमै मुस्ताङ ब्रान्डमा गाडीको एसेम्बल सुरु गर्यो । उक्त कम्पनीले नै उत्पादन गरेको मुस्ताङ म्याक्स तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चढे, जसका कारण मुस्ताङ गाडीको निक्कै चर्चा भयो । तर दुर्भाग्यबस २०६९ देखि सरकारले सवारीसाधनमा लागु हुदै आएको प्रदूषण स्तर (युरो स्ट्यान्डर्ड) युरो १ बाट युरो ३ लागु गर्यो । जसका कारण नेपालको पहिलो चारपाङ्ग्रे सवारी मुस्ताङको उत्पादन नै बन्द हुन पुग्यो ।   

मुस्ताङ उत्पादन गर्दै आएको हुलास मोटर्सले आफ्नो उत्पादनको प्राविधिक विस्तारमा केही समय लाग्ने भन्दै एक वर्ष माग गरेकोमा सरकारले समय नथपेपछि बाध्य भएर उत्पादन नै बन्द गर्नु परेको थियो । कम्पनीले शेर्पा गाडीको नाममा दह्रो गाडीको उपमा पाएपछि मुस्ताङ गाडी बजारमा ल्याएको थियो ।

कम्पनीले हालसम्म नेपालमै एसेम्बल गरिएको मोडल योे हो भनेर डिस्प्ले वा सार्वजनिक गर्न सकेको छैन । त्यसको कारण हो उत्पादन लागत ।

नेपालमै गाडी एसेम्बलगरि रहेको कम्पनीलाई सरकारले प्रोत्साहन गर्नुको साटो हतोत्साही बनायो । युरो ३ मा जान प्राविधिक रुपमै समय लाग्ने भएकाले समय माग गर्दा सरकारले नेपालमा उत्पादन भइरहेको सवारी कम्पनी आयात हुने सवारी सरह नै व्यवहार गर्यो । यस्तो अवस्था नयाँ एसेम्बलिङ कम्पनीलाई गरिनु हुन्न । आयातलाई भन्दा स्वदेशमै उत्पादन वा एसेम्बल हुने उत्पादनलाई प्राथमिकता दिने सरकारको स्पष्ट नीति हुनु पर्छ । उत्पादन बन्द हुनुअघि हुलास मोटर्सले मुस्ताङ १६ देखि १८ लाखसम्ममा बिक्री गर्दै आएको थियो ।

त्यस्तै बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपालमा बजाज मोटरसाइकल एसेम्बल सुरु गरेको १ वर्षभन्दा बढी भइसक्यो । तर कम्पनीले हालसम्म नेपालमै एसेम्बल गरिएको मोडल योे हो भनेर डिस्प्ले वा सार्वजनिक गर्न सकेको छैन । त्यसको कारण हो उत्पादन लागत ।

बजाजका आयातित मोटरसाइकलको तुलनामा नेपालमा एसेम्बल गरिएका मोटरसाइकल केही सस्तो हुनुपर्छ उपभोक्ताले त्यो रुचाउनका लागि । तर विविध कारणले आयातित र एसेम्बल्ड मोटरसारइकलको मूल्य समान हुँदा कम्पनीले औपचारिक घोषणा गरि बिक्री गर्न आनाकानि गरि रहेको हो ।

नयाँ एसेम्बलिङ प्लान्ट स्थापना गर्ने घोषणा गरेको मोट्रेक्सले यस्तो अवस्था झेल्नु पर्ने अवस्था आए त्यसको परिणम विकारल हुनेछ । त्यसका लागि कम्पनी तथा सरकारले सुरुवातमै स्पष्टता कायम गर्न जरुरी छ ।

एसेम्बल प्लान्टको विस्तृत अध्ययन हुनै बाँकी

विदेशी लगानी के प्रयोजनका लागि ल्याउने हो त्यो स्पष्ट पार्नु पर्छ । मोट्रेक्सले चारपाङ्ग्रे सवारी एसेम्बल गर्नेगरि लगानी स्वीकृत गराई सकेको छ । कम्पनीले गरेको प्रस्ताव अनुसार २०२१ सम्ममा सवारी एसेम्बल गरिने उल्लेख छ । तर त्यसका लागि समयमा नै विस्तृत अध्ययनगरि परियोजना निर्माण सुरु नगर्ने हो भने समयमै उत्पादन थाल्न सम्भव छैन ।

नेपालमा लगानी गरेर कसरी फाइदा लिने, यहाँको मार्केट के छ ? उत्पादन पछि कसरी बिक्री गर्न सकिन्छ ? निर्यातको सम्भावना के हो ? लगायतका कुराहरुको कम्पनीले अध्ययन गरिसकेको छैन । यसमा पनि स्पष्ट हुनु पर्छ ।

लगानी सम्मेलनको ह्वीम मात्र नबनोस्

सरकारले यही चैतको १५ र १६ गते लगानी सम्मेलन गर्दैछ । त्यसको पूर्व सन्ध्यामा कोरियाली कम्पनी मोट्रेक्सले १० अर्बभन्दा बढी लगानीसहित चारपांग्रे सवारीको एसेम्बल प्लान्ट स्थापना गर्ने घोषणा गर्यो । सरकारले उक्त लगानी स्वीकृतसमेत गरि सकेको छ । ठूलो लगानी घोषणा त भएको छ तर कार्यान्वयनका लागि सरकारले विशेष चासो दिनुपर्छ ।

यसरी लगानी हुनुले सबै पक्षमा सकारात्मक सन्देश प्रबाहित हुन्छ । देशमा लगानी भित्रँदा उत्पादन त हुन्छ नै त्यसले रोजगारी सृजना, आयात न्यूनिकरणमा मद्दत गर्दै देशका अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्छ । त्यसैले सरकारले जसरी उत्साहीत भएर लगानी स्वीकृत गरेको छ त्यही तदारुकताका साथ एसेम्बल प्लान्ट स्थापनामा सहयोग गरि समयमै नेपाली ब्रान्डका गाडी उत्पादनमा केन्द्रीत हुनु जरुरी छ ।

सरकार प्रस्ट हुनुपर्छ

सरकारले लगानी स्वीकृत गरिसकेकाले मोट्रेक्सले अयोजनाको संभाव्यता अध्ययन गर्ने कामको सुरुवात गर्न सक्नेछ । पछिल्लो एक दशकमा टाटा, महिन्द्रा र हुन्डाईले समेत नेपाली बजारमा प्लान्ट स्थापनाको चर्चा चलाई रहेका छन् । यस्तोमा कुनै एक कम्पनीलाई लामो समयसम्म एकाधिकार हुनेगरी लाईसेन्स दिने काम गरेमा त्यसले हाम्रो औद्योगिक विकासको चरणलाई पनि रोक्ने छ । यसतर्फ सरकार चनाखो हुनु पर्छ । 


Back_to_top