पैसा हुनेलाई गाडी किन्ने अवसर, बिक्रेता कम्पनी भने दबाबमा

काठमाडौं । नयाँ गाडी किन्नसक्ने अवस्थामा रहेका उपभोक्तालाई लकडाउन सकिएपछि ठूलो अवसरको रुपमा आउने देखिएको छ । आयातकर्ता कम्पनी दबाबमा रहेका कारण कारको बिक्री बढाउनै पर्ने बाध्यतामा रहेका छन् ।

लकडाउनको कारण विगत दुई महिनादेखि नेपाली अर्थतन्त्र पनि ठप्प प्रायः रहेको छ । यस अवधिमा कुनैपनि ब्राण्डका शोरुमहरु खुलेका छैनन् भने अनलाइनबाट सवारीसाधन बुकिङ गर्ने वातावरण पनि बनेको छैन ।

त्यसोत नेपालमा शोरुममा नै गएर टेष्ट ड्राइभ गरेर गाडी किन्ने वा बुकिङ गर्ने चलन रहेको छ । त्यसैले कुनै पनि कम्पनीले अनलाइन बुकिङ गर्ने सिस्टम विकास नगरेका हुन् ।

विगत दुई वर्षदेखि गाडी बिक्रीमा आएको कमीका कारण उसैपनि समस्यामा रहेका व्यवसायीलाई यस पटक कोरोनाको कारण थप संकटतर्फ धकेलेको छ । सरकारले अटो लोनमा कडाई गरेसँगै नयाँ गाडी बिक्रीमा समस्या सृजना भएको थियो । त्यसमा पनि कर्जा लिएर गाडी किन्नेलाई आम्दानी र मासिक किस्ताको अन्तरमा थिचेर कर्जा प्रबाहमा कडाई गरेपनि गाडी किन्ने मानिस शोरुम प्रबेश गर्नै छाडेका थिए ।

चालु आर्थिक वर्षको ६ महिनामा सरकारले सोचेअनुसार राजस्व संकलन गर्न नसकेपछि अर्थमन्त्रीले व्यवसायीहरुसँगको भेटलाई तिब्रता दिएर मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट अटो लोनको सिमा बढाउने आश्वासन दिएका थिए । साथै उनले व्यवसायीलाई भन्सार पारी रहेका सवारीसाधन आयत गर्न भनेका थिए ।

अर्थमन्त्रालयको यस्तो आश्वासनपछि व्यवसायीले पुस मसान्तमा ठूलो संख्यामा गाडी छुटाए । तर, सरकारले कर्जाको सिमा बढाउनुको सट्टा कर्जा प्रबाहमा नै अंकुश लगाउने काम गर्यो ।

अंग्रेजी आर्थिक वर्षको अन्त्यमा उत्पादक कम्पनीको चेपुवामा आयातकर्ता कम्पनी परे । उनिहरुले आफ्नो वार्षिक लक्ष्य अनुसारको गाडी फागुन अन्त्यदेखि चैतसम्ममा मगाए । अहिले नेपालमा पनि ठूलो संख्यामा गाडी स्टकमा रहेको छ भने भन्सार पारी पनि सवारीसाधन धेरै संख्यामा थन्किएका छन् । यसले समग्र अटोमोवाइल बिक्रेता कम्पनी ठूलो आर्थिक भारमा परेका छन् ।

लकडाउन सकिएपछि उपभोक्तालाई फाइदा

ठूलो संख्यामा स्टक रहेका गाडी उत्पादन मिति २०१९ भएका हुन् । अहिले २०२० को पनि ५ महिना सकिन लागि सकेको छ । यस्तोमा कम्पनीहरुलाई चाँडोभन्दा चाँडो स्टक क्लियरेन्स गर्नु पर्ने चुनौति रहेको छ । त्यसको लागि कम्पनीहरुले विशेष अफर संचालन गर्ने छन् ।

सामान्यतया अघिल्ला वर्षमा कम्पनीहरुले ल्याउने अफरको तुलनामा यसपटक धेरै छुट तथा सेवाहरु दिने पक्का छ ।

भारतमा पनि अघिल्लो साताबाट शोरुमहरु संचालनमा आएसँगै कम्पनीहरुले आफ्ना मोडलहरुमा भारी डिस्काउन्ट दिइरहेका छन् । यस्तोमा हाम्रा कम्पनीहरुले पनि डिस्काउन्ट दिने पक्का छ । तर, अहिल्यै कति देलान् भन्न सक्ने अवस्था भने छैन ।


Back_to_top