सवारीधनीलाई बीमा समितको राहत, लकडाउनको बीमा शुल्क तिर्नु नपर्ने

काठमाडौं । बीमा समितिले मोटर बीमा प्रिमियममा छुट दिन निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

लकडाउनको समयमा सवारीसाधन पूर्ण रुपमा थन्किएका तथा आंशिक मात्र चलेकाले जोखिम पनि न्यून हुने भन्दै लकडाउन अवधिभरको बीमा शुल्क आगामी वर्ष नविकरण गर्दा छुट दिन निर्देशन दिएको हो ।

समितिका अनुसार अब बीमीतले सवारी साधनको कुल वार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिम लागत कट्टा गरी बाँकी दुई तिहाईमा समानुपातिक छुट पाउने छन् ।

अर्थात् एक वर्षको कुल बीमा शुल्कमा ४ महिनाको अनिवार्य तिर्नु पर्ने र बाँकी रहेको ८ महीनामा जति दिन थन्किएको छ त्यतिदिनको प्रिमियम घटाएर तिर्नु पर्ने हुन्छ ।

‘सवारीसाधन सडकमा नगुड्दा जोखिम कम भएकाले जति दिन सवासीसाधन घरमा थन्कन्छ त्यति दिनको बीमा शुल्कमा दुई तिहाई छुट दिन लागेका हौं । एक तिहाई रकम भने अन्य जोखिमलाई मध्यनजर गर्दै तिर्नु पर्ने हुन्छ’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले मेरोअटोसँग भने ।

सवारीसाधन थन्किएको अवधि हिसाब गर्दा लकडाउन शुरु भएदेखि अन्त्य भएको दिनसम्म गणना गरिने छ ।

यसरी प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष/यात्रु कर्मचारीको बीमा लगायत जोखिम समूहको हिसाब गर्नु पर्ने छ ।


Back_to_top