तपाईको मोटरसाइकलमा कति हुन्छ बीमा छुट, यसरी गर्नुस् हिसाव

काठमाडौं । बीमा समितिले मोटर बीमा प्रिमियममा छुट दिन निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएसँगै लकडाउनमा थन्किएका मोटरसाइकल धनीले केही राहत पाएका छन् ।

बीमा समितिको निर्देशनपछि २ लाखभन्दा माथि दाबी योग्य रकम राखेर बीमा गरिएका मोटरसाइकल तथा स्कुटर धनीले कति रकम छुट पाउँछन् भनेर हामीले तपाई हरुलाई जानकारी दिने प्रयास गरेका छौं ।

यदि तपाईको मोटरसाइकलको बीमाङ्क रकम २ लाख राखेर बीमा गर्नु भएको छ भने तपाईले बीमा शुल्क ५ हजार ६ सय तिर्नु पर्ने हुन्छ ।

त्यसमा कम्पनीले साधारण प्रिमियम, तेस्रो पक्ष बीमा, स्ट्याम्प वापतको रकम जोडेको हुन्छ भने यी सबै रकम जोडर आउने योगफलमा भ्याट रकम जोडर एउटा सवारीसाधनको बीमा लेख जारि गरेको हुन्छ । त्यसैले कुल वीमाङ्क रकम अनुसार आफ्नो रकम कति फिर्ता आउने छ पत्ता लगाउन सकिन्छ ।

समितिका अनुसार अब बीमीतले सवारी साधनको कुल वार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिम लागत कट्टा गरी बाँकी दुई तिहाईमा समानुपातिक छुट पाउने छन् ।

यसको मतलव हो, तपाईले ५ हजार ६०० रुपैयाँको बीमा लेख किन्नु भएको छ भने १ हजार ८६७ रुपैयाँ तपाई अनिर्वाय तिर्नु पर्ने रकम हो । यो रकममा कुनै किसिमको छुट पाइने छैन ।

त्यसपछि तपाईले तिरेको बाँकी रहेको ३७३३ रुपैयाँलाई एक वर्षभरिको दिनले भाग लगाउनुस् । हरेक दिन तपाइले १० रुपैयाँ २२ पैसा तिर्नु पर्ने हुन्छ । अब लकडाउन सुरु भएको मितिले कति दिन लकडाउन हुन्छ उक्त दिनहरुमा दैनिक १० रुपैयाँ २२ पैसाले हिसाव गरेर रकम फिर्ता पाउनु हुन्छ । यसको मतलव अर्को पटक बीमा गर्दा उक्त रकम तपाईले छुट पाउनु हुन्छ । सबै किसिमको सवारीसाधनमा लकडाउनमा बीमा शुल्क छुट दिने तरिका यही हो ।

‘सवारीसाधन सडकमा नगुड्दा जोखिम कम भएकाले जति दिन सवासीसाधन घरमा थन्कन्छ त्यति दिनको बीमा शुल्कमा दुई तिहाई छुट दिन लागेका हौं । एक तिहाई रकम भने अन्य जोखिमलाई मध्यनजर गर्दै तिर्नु पर्ने हुन्छ’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले मेरोअटोसँग भने ।

सवारीसाधन थन्किएको अवधि हिसाब गर्दा लकडाउन शुरु भएदेखि अन्त्य भएको दिनसम्म गणना गरिने छ ।


Back_to_top