कार किन्नेलाई अहिलेभन्दा बढी छुट आउला दशैं–तिहारमा

काठमाडौं । कोभिड १९ को संक्रमणको विरुद्दमा झण्डै ८० दिन पूर्ण लकडाउन गरेपछि खुलेको बजारमा बिभिन्न कार बिक्रेता कम्पनीले नयाँ नयाँ अफर सार्वजनिक गरेका थिए ।

सरकारको नीतिको धज्जी उडाउँदै केही कम्पनीले २० प्रतिशत डाउन पेमेन्ट, केहीले ३० प्रतिशत डाउन पेमेन्ट र केही कम्पनीहरुले डाउन पेमेन्टको लागि चाहिने ५० प्रतिशत रकम ६ महिना भित्र पुरा गर्नेगरि गाडी बिक्री गर्ने योजना सार्वजनिक गरे ।

नयाँ योजनामा ग्राहकको चासो पनि राम्रै देखियो । कम्पनीहरुले ल्याएको आकर्षक अफरकै कारण खुलेको पहिलो महिना असारमा नै नियमित समयको ५० प्रतिशत हाराहारीमा बिक्री भयो । साउनमा शोरुममा जाने र गाडी टेष्ट ड्राइभ गर्नेको संख्यामा उल्लेखनिय वृद्धि आएको थियो । बिक्रेता कम्पनीहरुको अनुसार साउनमा नियमित बिक्रीको ६० देखि ७० प्रतिशतसम्म रिकभर भएको थियो ।

भदौ ४ गतेबाट लगाइएको निषेधाज्ञाले पुनः सबै गाडी बिक्रेताका शोरुमहरु बन्द भएका छन् । नियमित समय हुन्थ्यो भने अहिले ‘नाडा अटो शो २०२०’ सकिएको हुन्थ्यो । सबै कम्पनीले दशैं–तिहार लक्षित योजना ल्याएका हुन्थे । यस वर्ष न अटो शो भयो न गाडीका शोरुम खुल्ला छन् । यस्तोमा यसवर्ष दशैं तिहार पारेर गाडी किन्नेहरुले कस्ता अफर पाउँछन् भन्ने अन्योलता देखिएको छ ।

‘ग्राहकलाई नयाँ अफर त कम्पनीहरुले गर्छन् तर, कस्तो भन्ने विषयमा अहिल्यै भन्न सक्ने अवस्था छैन’, नाडाका उपाध्यक्ष तथा फोर्डको आधिकारीक वितरक जिओ फोर्डका निर्देशक आकाश गोल्छाले भने ।

गोल्छाका अनुसार विभिन्न कम्पनीले कोभिड १९ को संक्रमणपछि अफर चलाई रहेका छन् । सायद यस्तै अफरलाई चाडपर्वसँग जोडेर नयाँ केही आउने छन् ।

हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालि अफर र क्याम्पेन संचालनमा अग्रणी कम्पनी मानिन्छ । धेरै कम्पनीले हुन्डाईको योजना हेरेर आफ्ना योजना ल्याउने गरेको विगत छ । यस्तोमा हुन्डाईले के गर्दैछ भन्ने धेरैको चासो हुने गर्छ ।

‘हामीले अहिले दिएको डिस्काउन्ट भन्दा बाहिर गएर नयाँ योजना ल्याउन सक्ने अवस्था छैन, यद्यपी दशैं–तिहारमा थप केही दिन सकिन्छ कि । यसमा आन्तरिक तयारी भइरहेको छ’, लक्ष्मी इन्टरकन्टिनेन्टल्सका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने ।

अन्य कम्पनीको भनाई पनि अहिले दिएको डिस्काउन्टलाई नयाँ तरिकाले प्याकेजिङ गर्ने सोच बनाइरहेको भन्ने छ । यसले अहिलेभन्दा फरक स्कीम आउन सक्ने अनुमान गर्न सकिन्छ ।

सबैभन्दा बढी गाडी बिक्री गर्ने समयमा थप चुनौति

विशेषत नेपालमा भदौ, असोज र कार्तिकमा वार्षिक बिक्रीको झण्डै ५० प्रतिशत बिक्री हुने गरेको विगतले देखाउँछ । तर, यस वर्ष भदौ महिना जान लागिसकेको छ । आजबाट सोह्र श्राद सुरु भएको छ ।

सोह्र श्राद सकिएपछि मलमास सुरु हुने छ । धार्मिक हिसावले यी दुबै समय गाडी खरिदको लागि उत्तम मानिदैन । त्यसैले यो अवधिमा गाडी बुकिङ लिएर नौरथा लागेपछि कम्पनीहरुले डेलिभरी दिने योजना बनाएका छन् । तर, उनीहरुको योजना कोरोना संक्रमण बढ्दै जाँदा जटिल बन्दै गएको छ ।

ग्राहकलाई कस्तो फाइदा

ग्राहकले अहिले पनि गाडी किन्दा निकै ठूलो फाइदा पाइरहेका छन् । कम डाउन पेमेन्ट, कम व्याजदरमा कर्जा र उत्कृष्ट नगद छुट अहिले पनि उपलब्ध रहेको छ । संभवत दशैंमा आउने अफरमा केही एशोसरिज र सर्भिसमा थप छुट पाउन सक्ने छन् ।

यदि तपाई गाडी किन्ने सोचमा हुनुहुन्छ भने तपाईले अहिले पाउने छुट र दशैंमा पाउने छुट उस्तै रहने हाम्रो अनुमान छ । तर, अफर योजनाको नाम भने परिमार्जन हुने छ ।


Back_to_top