काठमाडौं । चीनसँगका मुख्य व्यापारिक नाका रसुवागढी र तातोपानी दुवै जोड्ने सडक अवरुद्ध हुँदा गाडी ल्याउनै मुस्किल भएको छ ।
चीनबाट सबैभन्दा धेरै कार आयात हुने रसुवागढीमा नाका गत असार २४ गतेदेखि ठप्प छ । बाढीले नेपाल चीन जोड्ने मितेरी पुल र सडक बगाएसँगै आयात ठप्प भएको हो ।
त्यस्तै, तातोपानी नाका पनि भरपर्दो छैन । कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको इकुमा हल्का वर्षा हुने बित्तिकै पहिरो झरिहाल्छ । जसकारण कति बेला बन्द हुन्छ भन्ने ठेगान नै छैन । यसअघि लगातार ३ हप्तासम्म बन्द भएको थियो ।
रसुवागढीमा मितेरी पुल निर्माण सुरू भएको छ । बेलिब्रिज नै राखेर पुल संचालनमा ल्याउन चीनले प्रयास गरिरहेको छ । तर, त्यसको लागि अझै कम्तीमा तीन सातासम्म लाग्न सक्ने देखिएको रसुवा जिल्ला प्रशासनको भनाइ छ । पुल बनिहाले पनि रसुवागढीबाट स्याफ्रुबेँेसीसम्म आउने सडकको हालत उस्तै छ । अझै करिब ३०० मिटर सडकमा नयाँ ट्रयाक खन्नै बाँकी छ ।
दशैं सुरू हुन केबल २५ दिन बाँकी छ । तर, बजारमा गाडी ल्याउनै नसकिने अवस्था छ । दुई-दुई वटा अटो शो भए । उपभोक्ताले राम्रै संख्यामा गाडी पनि अर्डर गरेका छन् । तर, गाडी दिन सक्ने अवस्था छैन । कति कम्पनीलाई त चीनबाट गाडी हिँडाउनै आँट आइरहेको छैन ।
‘हाम्रो गाडी अहिले बाटोमा छ । तातोपानी नाकाको चीन भन्सार कार्यालय आइपुग्यो । तर, बाटो तयार नहुँदा तत्काल काठमाडौं ल्याउन सकिएको छैन,’ साँग्रिला मोटर्सका डेपुटी जनरल मेनेजर किरण श्रेष्ठले भने ।
पारामाउन्ट मोटर्सका जनरल मेनेजर सुनिल क्षेत्रीका अनुसार एमजी आइएमा सिक्स नेपाल साइडमै आइपुगे पनि काठमाडौं ल्याउन सकिएको छैन । उनी भन्छन्, ‘हेरौं, दशैं अगाडि बाटो खुल्नासाथ ल्याएर बुकिङ गरेका ग्राहकलाई दिन सकिन्छ कि ।’

बीवाइडीले पनि दुई मोडल सार्वजनिक गरेको छ । नाइमा अटो शोमा एटो-वान र नाडा अटो शोमा एटो-टु । यी दुवै गाडी ठूलो संख्यामा बुकिङ भएको कम्पनीको भनाइ छ । यी गाडी पनि सडक नबनेसम्म आउन सक्ने अवस्था छैन ।
नयाँ मोडलमा समस्या
खासगरी नाइमा र नाडा अटो शोमा सार्वजनिक भएका नयाँ मोडलको डेलिभरीमा समस्या आउने भएको हो । अटो शो अगाडि लन्च भएका गाडी धेरै कम्पनीसँग स्टकमा छन् ।
बजेट अगाडि ठूलो संख्यामा आयात भएका एमजी एस-फाइभ, बीवाइडी डल्फिन, नामी-०१, लीपमोटर सी-१०, दीपल एस-०७ जस्ता मोडल ग्राहकले डेलिभरी पाउने छन् । तर, यी मोडलमा पनि क्रमिक रूपमा कलर लगायतका अप्सन छनोट कम हुँदै गएको बिक्रेताहरूको भनाइ छ ।
‘हामीसँग एमजी एस-फाइभ बिक्री गर्न गाडी छ । तर, ग्राहकले यही कलर चाहिन्छ भनेको खण्डमा त्यो पूरा गर्न सकिँदैन । किन भने वैशाखमा आयात गरेका धेरै गाडी बिक्री भइसकेका छन्’, पारामाउन्ट मोटर्सका जनरल मेनेजर क्षेत्रीले भने ।
चाडवार्डको मुखमा व्यापार कम हुने चिन्ता
नेपालमा कुल बिक्री हुने गाडीको करिब ४० प्रतिशत असोज र कात्तिकमा बिक्री हुने गरेको देखिन्छ । दशैं, तिहार र छठ जस्ता पर्व यही दुई महिना छन् । त्यसैले यही वेला गाडी ल्याउन नसकिने हो कि भन्ने चिन्ता आयातकर्ताहरूमा देखिन्छ ।
अर्को, नेपाली उपभोक्ता एउटा नपाए सजिलै अर्को ब्राण्डमा सर्ने गरेको बिक्रेताहरूको बुझाइ छ । चाडवाडमा गाडी किन्ने योजना बनाएका मानिसले गाडी किन्छ, किन्छ । त्यसैले बाटोकै कारण व्यापार गुम्ने चिन्ता धेरैमा देखिन्छ ।

