काठमाडौं । सन् २०२५ को साढे ७ महिना (जनवरी-अगष्ट १५)सम्म नेपाली बजारमा कुल ८ हजार ९०१ युनिट कार भित्रिएका छन् । यो संख्या पेट्रोल र विद्युतीय (ईभी) दुवैको हो ।
साढे ७ महिनामायस अवधिका कुल ५४ ब्राण्डका कार आयात भएको छ । जसमा चार ब्राण्ड बीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।यस वर्ष कार आयातमा टाटा, हुन्डाई, बीवाइडी र एमजी बीच कडा टक्कर देखिएको हो ।
साढे ७ महिनामा भारतीय ब्राण्ड टाटाका सबैभन्दा धेरै कार आयात भएको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले साढे ७ महिनामा कुल १ हजार ६६२ युनिट कार ल्याएको छ । जसमा ९०६ युनिट प्यासेन्जर कार र ७५६ युनिट ट्याक्सी ल्याएको छ । सिप्रदीले टाटाको टियागो ईभी, नेक्सन केथ्री ईभी, कर्भ ईभी, पंच ईभी र पेट्रोलतर्फ नेक्सन, टियागो, अल्ट्रोज, सफारी लगायत मोडल बिक्री गर्दै आएको छ ।
त्यस्तै, कोरियाली कम्पनीका हुन्डाईकाे दाेस्राे धेरै १ हजार २७० युनिट कार आयात भएकाे छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले उक्त संख्यामा विभिन्न मोडल कार भित्र्याएको हो । कम्पनीले नेपाली बजारमा हुन्डाई क्रेटा, भेन्यु, क्रेटा इलेक्ट्रीक मोडलका कार बिक्री गर्दै आएको हो ।
त्यस्तै, सन् २०२५ मा नेपाली बजारमा बीवाइडी तेस्राे धेरै गाडी भित्र्याउने ब्राण्ड बनेको छ । यस अवधिमा साइमेक्स इंकले कुल ११७३ युनिट कार आयात गरेको हो । कम्पनीले हाल बीवाइडीका एटो वान, एटो २, एटो थ्री, सिलायन सेभेन, डल्फिन, एम-सिक्स र सिल मोडल बिक्री गर्दै आएको छ ।
बीवाइडीलाई पछ्याउँदै एमजी चाैथाे धेरै आयात हुने ब्राण्ड बनेको छ । साढे ७ महिनामा एमजीका १ हजार १५० युनिट कार भित्रिएका छन् । नेपालमा प्यारामाउन्ट मोटर्सले एमजीका एमजी एस फाइभ, एमजी जेडएस फोर, हेक्टर लगायत मोडल बिक्री गर्दै आएको छ ।
चिनियाँ ब्राण्ड डोङफेङ पाँचौं स्थानमा रहेको छ । यस अवधिमा डोङफेङ ब्राण्डका ६६७ युनिट कार आयात भएको छ । नेपालमा डोङफेङका नामी, फोरथिङ नामका ईभी बिक्री हुँदै आएका छन् ।
सन् २०२५ मा धेरै आयात हुने ब्राण्डहरूमा क्रमशः मारुती ५४४, दीपल ३६१, किया ३३२, लीपमोटर ३१८ र ओमोडा/जेको ३०४ युनिट सहित शीर्ष दशमा रहेका छन् ।
त्यसैगरी, केई २४४ युनिट, प्रोटोन २०२ युनिट, जीएसी २०१ युनिट, निसान १५० युनिट, टोयोटा १४५ युनिट आयात भएको छ । यी बाहेक अन्य सबै ब्राण्डको १०० युनिटभन्दा कम आयात भएको छ ।
महिन्द्रा ९५, सेरेस ८४, एक्सपेङ ८२, स्काइवेल ८२, जेएम ईभी ७४, सिट्रोन ७०, दायुन ६०, जीकर ४०, बीएडब्लू ३९, बीएमडब्लू, ३८, भोल्टस् ३७, स्कोडा २८, फक्सवागेन २७, ग्रेटवाल २३, होण्डा २१, स्मार्ट १५, मित्सुबिशी १२, जिली १२, इन्निउ १२ र आइएम युनिट आयात भएको छ ।
लक्जरी कार टेस्ला ९, पोर्श्चे ७, ल्याण्डरोभर ७ र अउडी १ युनिट आयात भएको छ । फोरथिङ, जीप, फोर्ड, सुबारु, वुलिङ, जोना, लिङबक्स, एलएसअटो, माज्दा, म्याक्सस, चांगान लगायत ब्राण्डका ७ युनिटभन्दा कम कार भित्रिएका छन् ।

