कार आयातमा टाटा पहिलो, दोस्रो स्थानको लागि भिड्दै ४ ब्राण्ड

काठमाडौं । सन् २०२५ को १ जनवरीदेखि १५ मे तारिखसम्मको आयातको आधारमा टाटा सबैभन्दा अगाडि देखिएको छ । सिप्रदी ट्रेडिङले यस अवधिमा १ हजार १३ युनिट कार आयात गरेको देखिन्छ ।

सन् २०२५ को साढे ४ महिनामा कुल ५ हजार ८१ युनिट सवारी साधन आयात भएको छ । त्यसमध्ये टाटा मोटर्सले १९.९३ प्रतिशत आयात गरेको देखिन्छ ।

पहिलो स्थानमा अन्य प्रतिस्पर्धी भन्दा सिप्रदी ट्रेडिङले आयात गर्ने टाटा निकै अगाडि देखिए पनि दोस्रो स्थानमा चार ब्राण्ड बीच कडा प्रतिस्पर्धा देखिएको हो । मे १५ तारिखसम्मको आयातको आधारमा बीवाइडी दोस्रो स्थानमा देखिएको छ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले यस अवधिमा ६०८ युनिट कार आयात गरेको छ । जुन कुल आयातको ११.९६ प्रतिशत हो ।

लगभग उत्ति नै बजार हिस्सा रहेको हुन्डाईले यस अवधिमा ११.०६ प्रतिशत आयात हिस्सा ओगटेको छ । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनवरीदेखि मे १५ तारिखसम्ममा ५६२ युनिट आयात गरेको देखिन्छ ।

दोस्रो स्थानको लागि आफूलाई पनि कडा प्रतिस्पर्धी बनाएको डोङफेङ नामीले पनि ११ प्रतिशत आयात गरेको छ । एमएडब्लू वृद्धिले नेपाल ल्याएको नामी ब्राण्डका गाडी ५५९ युनिट आयात भएको छ । जुन हुन्डाईभन्दा केबल ३ युनिट कम हो ।

टप पाँच भित्र परेको एमजीले पनि सन् २०२५ को सुरुवातसँगै आयात वृद्धि गरेको छ । नयाँ एस-५ मोडलको आयात सुरु भएसँगै पारामाउन्ट मोटर्सले ५२२ युनिट गाडी नेपाल ल्याएको छ । एमजीको आयात हिस्सा १०.२७ प्रतिशत देखिएको छ ।

सन् २०२५ जनवरी १ तारिखदेखि मे १५ तारिखसम्म आयात भएका कुल कारको संख्या ५ हजार ८१ युनिट मध्ये यी टप ५ कम्पनीले ६४.२२ प्रतिशत आयात गरेका छन् । जबकी बाँकी अन्य सबै ब्राण्डको हिस्सामा ३५.७८ प्रतिशत परेको छ ।

यी ५ ब्राण्ड बाहेक मारुती सुजुकी, ओमोडा/जेको, केई, चांगान, लीपमोटर, प्रोटोन जस्ता ब्राण्डले पनि राम्रै संख्यामा गाडी आयात गरेका छन् ।


Back_to_top