ईभीमा ६०/४० को नीतिपछि सुनसान बन्दै गाडीका शोरुम

काठमाडौं । चैत लागेसँगै गाडीका शोरुमहरू सुनसान भएका छन् । राजनीतिक सरगर्मीले सडक तातिरहँदा गाडीका शोरुमहरू भने सुनसान भएका हुन् ।

नेपाल राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो परिवर्तन गरी ईभीमा अनिर्वाय डाउन पेमेन्ट मूल्यको ४० प्रतिशत गर्नुपर्ने व्यवस्था गरेसँगै शोरुमहरूमा मानिसको भिजिट नै कम भएको व्यवसायीहरू बताउँछन् ।

‘अहिले बजार निकै सुस्त देखिएको छ । आर्थिक गतिविधि न्यून हुनु र राजनीति मुद्दामा फेरि बहस बढ्नुले मानिसले निर्णय गर्न नसकेको अनुमान गरिएको छ,’ नक्साल शोरुममा बसेर गाडी बिक्री गर्दै आएका एक शोरुम मेनेजरले मेरोअटोसँग भने ।

सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनीहरूको नक्साल शोरुमबाट हुने सेल्समा आधा कमी आएको उनीहरूको भनाइ छ । नक्साल पछिल्लो समय अटो हवको रूपमा विकास भइरहेको ठाँउ हो ।

थापाथली एरियामा पनि अवस्था उस्तै छ । शोरुमहरू सुनसान छन् । बजारमा गाडी किन्ने मानिसहरू आउनै छाडेको जस्तो भान भइरहेको बिक्रेताहरूको भनाइ छ ।

डाउन पेमेन्टको असर कति ?

नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनमा जाने कर्जामा केही कडाई गर्दै ईभी किन्नेले मूल्यको ४० प्रतिशत अनिर्वाय डाउन पेमेन्ट गर्नुपर्ने व्यवस्था गरेसँगै बजार ओरालो लागेको मान्नेहरू धेरै छन् । तर, त्यही कारणले ईभी किन्ने घटेका होइनन् ।

किनभने अहिले अधिकांश ब्राण्डले २० प्रतिशत डाउन पेमेन्टममै गाडी अफर गरिरहेका छन् । त्यसका बाबजुद पनि गाडी किन्ने मानिस पाउन सकेका छैनन् ।

सन् २०२५ लागेसँगै ठूला ब्राण्डको आयातमा देखिएको कमी र धेरै ब्राण्ड बीच चलेको प्रतिस्पर्धाको कारण बिक्रीमा कमी आएको देखिएको हो । तर, आयात तथ्यांक अनुसार अघिल्लो वर्षको जति आयात भएको छ । यसले बजारमा बढेको तीव्र प्रतिस्पर्धालाई देखाउँछ ।


Back_to_top