‘एमजी एस-५’को मासिक किस्ता कति ? ग्राहकलाई हस्तान्त्रण सुरू हुँदै

काठमाडौं । मूल्यको कारण बजारमा खुबै चर्चा कमाइरहेको एमजी एस-५ एसयूभी किन्नेले मासिक ४१ हजार १४० रुपैयाँ किस्ता तिर्दा पुग्छ । कम्पनीको सबैभन्दा सस्तो भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रहेको छ ।

अहिले बैंक तथा वित्तिय संस्थाहरुले ८ प्रतिशत ब्याजदरमा कारको मूल्यको ६० प्रतिशतसम्म कर्जा सेवा उपलब्ध गराउने छ । ७ वर्षको लागि कर्जा सुविधा पाउने भएको कारण थोरै रकममा नै एस-५ चढ्न सकिने भएको हो ।

एमजी एस-५ प्रिमियम भेरियन्ट खरिद गर्नेले ४९ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । यो ४९ किलोवाट आवर क्षमताको ब्याट्री भएको टप भेरियन्ट हो । यसलाई खरिद गर्नेले मासिक ४६ हजार ७५० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

ठूलो ब्याट्री ६२ किलोवाट आवरको ब्याट्री रहेको छ । यसमा रहेको ब्याट्रीकै कारण मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ । ठूलो ब्याट्री भएको मोडल खरिद गर्नेले मासिक ५१ हजार ४२५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

सानो ४९ ब्याट्री भएको मोडललाई दुई भेरियन्टमा बिक्री गर्दै आएको छ । एमजी एस-५ मा प्रयोग भएको सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ । यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।

डेलिभरी सुरु हुँदै

झण्डै २५ दिन अगाडि बुकिङ खुला भएको एस-५ ग्राहकलाई हस्तान्त्रण सुरु हुने भएको छ । कम्पनीले हिजो मात्रै पहिलो लट एस-५ एसयूभी नेपाल ल्याएको छ ।

‘काठमाडौं गाडी आइपुगेको छ । आजैदेखि डेलिभरी दिने योजना बनाइएको छ । गाडी कुरेर बसेका ग्राहकलाई अब दिन्छौं’, पारामाउन्ट मोटर्स स्रोतले भन्यो ।

एमजी एस-५ को इन्टेरियर मिनिमल डिजाइनमा तयार भएको छ । ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको क्रसओभर एसयूभीमा हिटेड र भेन्टिलेटेड सिट पाउन सकिन्छ ।

नेपालमा धेरैले सोध्ने ग्राउण्ड क्लियरेन्स पनि यसमा १८० एमएम पाउन सकिन्छ । कम्पनीले एस-५ सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्री अहिलेसम्मकै सबैभन्दा पातलो रहेको कम्पनीको दाबी छ । ब्याट्री पातलो भएको कारण यसको क्याबिन पनि निकै स्पेसियस देख्न सकिन्छ ।


Back_to_top