दशैं लगत्तै सुनसान बन्दै गाडीका शोरुम

काठमाडौं । दशैं अगाडि केही चहलपहल बढेको अटोमोवाइल बजार फेरी सुस्त भएको छ । गाडीका शोरुमहरुमा दशैंपछि नयाँ गाडी किन्न जानेहरुको संख्यामा निकै कमी आएको हो ।

काठमाडौंको थापाथली, नक्साल, महाराजगंज, भक्तपुर लगायत क्षेत्रमा रहेका शोरुमहरुमा नयाँ गाडी किन्न जानेहरुको संख्या उल्लेख रुपमा घटेको ब्यवसायीहरु बताउँछन् ।

यसअघि कम्बस्चन गाडी बिक्री गर्ने शोरुमहरुमा ‘फुटफल’ कम भएपनि इलेक्ट्रीक गाडी बिक्री गर्ने शोरुममा राम्रै संख्यामा ग्राहक पुग्ने गरेका थिए । तर, दशैंपछि ईभी शोरुम घुम्ने पनि घटेका छन् ।

‘पेट्रोल कार किन्नेहरुको संख्या घटेकै थियो । ईभीमा पनि दशैंपछि मानिस आएका छैनन् । यसले केही अन्योलता देखिएको छ’, एक ईभी बिक्रेताले भने ।

मेरोअटो टीमले पनि दशैं लगत्तै धेरै गाडी बिक्री हुने क्षेत्रमा रहेका अधिकांश शोरुम भ्रमण गरेको थियो । अधिकांश कम्पनी कम्पनीको शोरुममा मानिसको फुटफल नै छैन । एकाध कम्पनीमा डेलिभरी लिन ग्राहकहरु पुगेको भेटियो ।

नाडा अटो शो २०२३ पछि नयाँ गाडी किन्नेहरुको चहलपहल थियो । तर, दशैंमा ३ हजारभन्दा धेरै यूनिट कारहरु ग्राहकमा हस्तान्त्रण भएको थियो । त्यसपछि भने नयाँ गाडी बुकिङ गर्न जानेको संख्या घटेको हो ।
लामो आर्थिक मन्दीले मानिसले खर्च गर्ने क्षमता गुमाउँदा अटो मोवाइलक कारोबारमा मन्दी आइरहेको छ । नेपालमा गाडीको बिक्रीमा मन्दी चलिरहँदा विश्व बजारमा भने कारको ब्यापार ‘बूम’ भएको पाइन्छ ।

भारत, चीन, अमेरिका, यूरोपदेखि मध्य पूर्वका देशमा कारको ब्यापार राम्रो संख्यामा भइरहेको छ ।


Back_to_top