सीएटीएलको नयाँ बेडरोक चेसिसः आगलागी, विष्फोट र थर्मल रनवे नहुने

काठमाडौं । विश्वकै ठूलो हाइ भोल्टेज ब्याट्री उत्पादक कम्पनी सीएटीएलले आफ्नो ब्याट्रीहरु थप सुरक्षीत बनाउन नयाँ ‘स्केडबोर्ड चेसिस’ बनाएको छ । कम्पनीले सांघाईमा एक कार्यक्रम आयोजना गरेर नयाँ बेडरोक चेसिस देखाएको हो ।

सीएटीएलले देखाएको बेडरोक चेसिसलाई विश्वको पहिलो अल्ट्रा-सेफ स्केडबोर्ड चेसिस भनिन्छ । ब्याट्रीमा स्केडबोर्ड चेसिसको कन्सेप्ट सबैभन्दा पहिला २००२ मा अमेरिकी अटोमोवाइल कम्पनी जनरल मोटर्सले देखाएको हो ।

सीएटीएलले यसअघि ‘क्याटल इन्ट्रीग्रेटेड इनटेलिजेन्स चेसिस’ (सीआईआईसी) नामक चेसिस प्रयोग गर्दै आएको थियो । अब कम्पनीले आफ्नो सीआईआईसी भित्रकै फ्ल्यागसिप भेरियन्टको रुपमा बेडरोक चेसिसलाई प्रयोगमा ल्याउने छ ।

कम्पनीको दावी अनुसार बेडरोक चेसिस ब्याट्री सुरक्षाको लागि नयाँ परिभाषा भएर आउने छ । यसको प्रयोगबाट मोडुलर, पर्सनलाइज र इन्टेलिजेन्ट भेहिकल डिजाइनमा समेत कम्पनीहरुलाई फाइदा पुग्नेछ ।

सीएटीएलका अनुसार बेडरोक चेसिस ब्याट्री केन्द्रित रहेको र ‘सेल टु चेसिस’ एकिकृत प्रविधि अपनाउने हुँदा ब्याट्री उत्कृष्ट डिजाइन पाउन सकिन्छ । जसले गाडीको डिजाइनमा पनि निखारता ल्याउने छ ।

नयाँ बेडरोक चेसिसकै कारण विद्युतीय साधनको ब्याट्रीमा आगलागी, विष्फोट, थर्मल रनवे जस्ता कुरा १२० किलोमिटर प्रतिघन्टाको स्पीडमा पोलमा लगेर ठोक्दा पनि नहुने कम्पनीको दावी छ ।


Back_to_top