छिमेकी देशका पर्यटक सवारीले भन्सार बिन्दुमा बाहेक थप शुल्क तिर्न नपर्ने

काठमाडौं । सरकारले छिमेकी देशका पर्यटक सवार सवारीसाधनले नेपाल आउँदा भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि अन्यत्र थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरेको छ ।

अन्तरसरकारी वित्त परिषद्को गत साता बसेको बैठकले छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार अब छिमेकी देशका पर्यटकीय सवारी साधन नेपाल आउँदा भन्सार बिन्दु बाहेक नेपालभर अन्यत्र कुनै शुल्क तिर्नुपर्दैन । यसअघि भन्सार बिन्दु बाहेक पनि विभिन्न तहका सरकारलाई अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था थियो ।

‘छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न नेपाल प्रवेश गर्ने सवारीले भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि तोकिएको दिनसम्म निर्वाध नेपालभित्र अन्य कुनै शुल्क नलिई सहज आवागमन हुने व्यवस्था मिलाउने,’ बैठकको निर्णयमा छ ।

पर्यटन व्यवसायीले लामो समयदेखि पर्यटक बोक्ने सवारीले विभिन्न तहका सरकारलाई छुट्टाछुट्टै शुल्क बुझाउनुपर्ने बाध्याता रहेकाले सो हटाउन माग गर्दै आएका थिए ।


Back_to_top