सुजुकी ई भिटाराको ५ भेरियन्ट सार्वजनिक, मूल्य अझै सस्पेन्स

काठमाडौं । मारुती सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी विभिन्न ५ भेरियन्टमा सार्वजनिक भएको छ । कम्पनीले सानो ब्याट्रीमा तीन र ठूलो ब्याट्रीमा दुई गरी ५ भेरियन्टमा सार्वजनिक गरेको हो ।

ई भिटामा ४९ र ६१ किलोवाट आवर गरि दुई अप्सनको ब्याट्री उपलब्ध छ । सानो ४९ किलोवाट आवरको ब्याट्री भएको ई भिटारा डेल्टा, जेटा र अल्फा गरि ३ भेरियन्टमा आएको हो । ठूलो ब्याट्रीमा भने जेटा र अल्फा गरी दुई भेरियन्ट छ ।

कम्पनीले भेरियन्ट सार्वजनिक गरेपनि मूल्य भने अझै सस्पेन्स राखेको छ । अबको केही दिनमा मूल्य सार्वजनिक गर्दै बुकिङ खुल्ला गर्ने कम्पनीले जनाएको छ ।

मारुती सुजुकीले पनि एमजीको जस्तै ब्याट्री एज अ सर्भिस (बास) मोडलमा पनि ई भिटारा बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । बास मोडलमा गाडी खरिद गर्दा ब्याट्रीको मूल्य बाहेकको मात्रै रकम तिरे पुग्छ भने ब्याट्री सब्सक्रिप्सन मोडलमा गुडेको किलोमिटरका आधारमा पैसा तिरे पुग्छ ।

ई भिटाराको इन्टेरियरमा फ्लोटिङ टचस्क्रीन इन्फोटेन्मेन्ट स्क्रीन, फुल्ली डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले, पानारोमिक सनरुफ, फ्लोटिङ सेन्टर कन्सोल, ट्विनस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, रेक्ट्रयाङ्गुलर एसी भेन्ट्स, रोटरी ड्राइभ सेलेक्टर, वायरलेस एप्पल कारप्ले एण्ड एण्डरोइड अटो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, पावर्ड ड्राइभर सिट, इन्फिनिटीको प्रिमियम अडियो सिस्टम लगायत क्याबिन फिचर छन् ।

ई भिटारामा सुरक्षाका लागि ७ वटा एयरब्याग, लेवल २ एडास फिचर, हाइटेन्सिल स्टील स्ट्रक्चर, ३६० डिग्री क्यामरा, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटोहोल्ड, चारै चक्कामा डिसब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम छ । यो एसयूभीले हालै मात्र भारत एनक्याबको क्रयास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

नेपालमा ई भिटारा गत भदौमा सम्पन्न नाडा अटोशोमा देखाइएको थियो । भारतमा बिक्री सुरू हुने बित्तिकै नेपालमा पनि ल्याइने आधिकारिक बिक्रेता सीजी मोटोकर्प स्रोतले बतायो ।

‘भारतमा सम्भवतः जनवरीदेखि बिक्री सुरू भयो भने नेपालमा फेब्रुअरीदेखि बिक्री सुरू गर्छौं,’ स्रोतले भन्यो ।


Back_to_top