काठमाडौं । अमेरिकी अटोमोबाइल जाइन्ट फोर्ड मोटर्सका सीईओ जिम फार्लीले चीन भ्रमणको क्रममा साओमी ‘एसयू सेभेन’ एसयूभी चलाएका थिए । उनले टेस्ट ड्राइभपछि दिएको प्रतिक्रिया अहिले निकै चर्चामा छ ।
चिनियाँ उत्पादकको प्रयास, रणनीति र अबको अटोमोबाइल क्षेत्रको भविष्यका विषयमा बुझ्न आफू चीन पुगेको जिम फार्लीले बताए । साओमी एसयू सेभनको बारेमा उनको छोटो प्रतिक्रिया थियो, ‘यो अमेरिकाको एप्पल जस्तै छ । जुन चीनको आफ्नै एप्पल कम्पनीको उदय भयो ।’
‘म साओमीसँग निकै प्रभावित भएँ । छोटो समयमा शाओमीले चीनमा पाएको सफलता आश्चर्यजनक होइन । साँचै एसयू सेभेन एप्पल सरह छ,’ उनले अर्जेन्टिनाको मिडिया अन्तर्वार्तामा भने ।
फार्लीले साओमीको गाडी चलाएपछि आफू अचम्मित भएको प्रतिक्रिया दिए । उनले भने, ‘शाओमीको गाडीमा फोन कनेक्ट नै गर्नु पर्दैन । तपाईं फोन लिएर गाडीमा बस्नुस् आफैँ कनेक्ट हुन्छ । तपाईंलाई आफैँ पहिचान गर्ने क्षमता गाडीमा छ । त्यति मात्रै होइन, गाडीमा प्रयोग भएको एआई अविश्वसनिय लाग्छ । एक बटम थिचेकै भरमा गाडीले शून्यदेखि १०० किलोमिटरको स्पीड ३ सेकेण्डमा भेट्टाउँछ ।’

फोर्डले विश्वको धेरै बजार गुमाउँदै गएको अवस्थामा फार्लीले आफ्ना प्रतिस्पर्धीहरूको उत्कृष्ट उत्पादन प्रयोग गरेर हेरिरहेका छन् । उनले आफ्ना कर्मचारीहरूलाई प्रतिस्पर्धीको राम्रो मोडल किनेर ल्याउन र त्यसको अनुभव गर्न निर्देशन नै दिएका थिए । उनी आफैँ पनि प्रतिस्पर्धीको गाडी चढेर हेर्न मन पराउँछन् ।
चिनियाँ ईभीबाट निकै प्रभावित जिम फार्लीले फोर्डमा टेस्लाबाट डग फिल्डलाई इलेक्ट्रीक कार डिभिजनको हेडको रूपमा ल्याए । त्यसपछि परम्परागत कार बनाउने फोर्डको क्षमतालाई फिल्डले बाहिर ल्याइदिएको फार्लीले बताए । फिल्डका अनुसार फोर्ड ईभीमा ३० वर्षपछि छ ।

