काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता सुजुकीले ३५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल उत्पादन गर्ने भएको छ ।
कम्पनीले हाल उत्पादन गर्दै आएकाभन्दा विल्कुलै नयाँ प्लेटफर्ममा ३५० सीसीको मोटरसाइकल ल्याउने भएको हो ।
कम्पनीले २ महिना अघि इटालीको मिलानमा भएको इक्मा अटोशो २०२५ मा पहिलो पटक ३५० देखि ५०० सीसीसम्मका मोटरसाइकलहरू निर्माण गरी बजारमा ल्याउने घोषणा गरेको थियो ।
भारतीय मिडियामा आएको रिपोर्ट अनुसार कम्पनीले नयाँ मोटरसाइकल निर्माण गर्न काम गरिरहेको बताइएको छ । भारतमा ३५० सीसी वा सोभन्दा कम क्षमताका मोटरसाइकलमा सरकारले लगाउँदै आइरहेको जीएसटी घटेसँगै कम्पनीले ३५० सीसी प्लेटफर्ममा काम गर्न थालेको रिपोर्टमा उल्लेख छ ।
कम जीएसटीका कारण ३५० सीसी सेग्मेन्टको मोटरसाइकल पनि सस्तो मूल्यमा बिक्री गर्न सक्ने भएकाले कम्पनीले यसको उत्पादनको तयारीका लागि काम गरिरहेको अनुमान लगाइएको छ ।
रिपोर्ट अनुसार कम्पनीले रेट्रो डिजाइनमा मोटरसाइकल बनाउने भएको छ । जसले रोयल इनफिल्ड, होण्डा, जावा लगायतका अन्य ब्राण्डहरूले बजारमा ल्उाएका ३५० सीसी सेग्मेन्टका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्न सक्ने छ ।
सुजुकी कम्पनीका मोटरसाइकल मार्केटिङ तथा योजना महाप्रबन्धक अकिरा क्युजीले ग्राहकको माग पूरा गर्ने उत्पादन बजारमा ल्याउने बताए । ‘यदि ग्राहकको माग छ भने, ब्राण्डले अगाडि बढेर त्यसलाई पूरा गर्नुपर्छ,’ उनले भने ।
युरोप र एसिया जस्ता प्रमुख बजारहरूमा मोटरसाइकलको बढ्दो माग छ । यसै कुरालाई मध्यनजर गरी कम्पनी अघि बढेको हो ।

