काठमाडौं । विद्युतीय कारको प्रयोग बढिरहेको चीनमा दुर्घटनाको प्रकृति र प्रकार पनि फरक फरक देखिन थालेको छ । यस्तै एउटा डरलाग्दो दुर्घटना चीनको संघाई सहरमा भयो ।
चिनियाँ स्टार्टअप कम्पनी नियोले उत्पादन गरेको ‘इसी सिक्स’ तिब्र गतिको कारण दुर्घटना हुँदा गाडी नै भाँचिएको हो । यतिसम्म कि बाहिर आएको तस्बिरमा देखिए अनुसार गाडीको पछाडिको भाग पूर्ण रुपमा छुट्टिएको थियो ।
यति डरलाइदो देखिएको दुर्घटनामा कारमा आगलागी भने भएको थिएन । डिसेम्बर १ तारिखमा भएको दुर्घटनामा गाडीको हाइभोल्टेज ब्याट्री जस्ताको त्यस्तै रहेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् । गाडीमा सवार चालक र यात्रु दुबै अस्पतालमा सामान्य उपचारपछि घर फर्केको रिपोर्टहरुमा दावी गरिएको छ ।
नियो ‘इसी सिक्स’ एक कुपे डिजाइन एसयूभी हो । यसमा १०० किलोवाट आवरको ठूलो ब्याट्री प्रयोग भएको छ । सीएलटीसीका अनुसार उक्त ब्याट्रीलाई फुल चार्ज गरेपछि ६३० किलोमिटर इसी सिक्स चलाउन सकिन्छ ।
अगाडि र पछाडि नै मोटर सेटअप रहेको एसयूभी तिब्र गतिमा गएर सिमेन्टको संरचनामा ढोकिएको थियो । त्यसैले पछाडिको भाग नै टुक्रिएको मानिन्छ । फ्लोरमा राखिएको ब्याट्री प्याकमा आगलागी वा थर्मल रनवेको कुनै घटना भएन ।
नियोले घटनाको विषयमा अनुषन्धान भइरहेको जनाएको छ । कम्पनीले भनेको छ, ‘घटना कसरी भयो । घटनाको मुख्य कारण र त्यसबाट उत्पन्न भएको क्षेती तथा त्यसको कारण बुझ्न अनुषन्धान सुरु भएको छ ।’
कम्पनीले अनुषन्धानपछि जस्तो रिपोर्ट ल्याएपनि गाडी दुर्घटनामा मानविय क्षती नहुँनु, ब्याट्री पड्कने तथा आगलागी जस्ता घटना नहुँनु आफैँमा निकै सकारात्मक पक्ष हो ।

