काठमाडौं । सन् २०२० ताका नेपालमा १६० सीसी सेग्मेन्टका मोटरसाइकल किन्ने धेरै थिए । खोज्ने धेरै भएसँगै १६० सीसी सेग्मेन्टको चर्चा पनि धेरै हुने नै भयो ।
विशेषगरी बजाज पल्सर एनएस १६० र टीभीएस अपाचे आरटीआर १६० जस्ता मोटरसाइकलले बजार तताएका थिए । बजारमा हल्ला मात्र होइन यी दुई मोडलको बिक्री पनि गज्जब थियो ।
निकै एग्रेसिभ डिजाइनमा तयार भएका नेकेड स्ट्रीट सेग्मेन्टका यी मोटरसाइकलहरू स्टाइसँगै पावरमा पनि ठिकठाक थियो । त्यसैले कम बजेटमा उत्कृष्ट मोटरसाइकल पाएको अनुभूति युवा उपभोक्ताले गर्थे ।
सामान्य यात्रामा १२५ सीसी र १५० सीसी सेग्मेन्टका मोटरसाइकल प्रयोग गर्दै आएकाहरूको चाहना पनि १६० सीसीमा अपग्रेड गर्ने हुन्थ्यो । कम कर, हेर्दा स्टाइलिस र पावरका कारण १६० सीसीको मोटरसाइकल रोज्ने धेरै भेटिन्थे ।
बजाज पल्सर एनएस १६० र टीभीआर अपाचे आरटीआर १६० फोर भी दुवै मोटरसाइकल अहिले पनि उपलब्ध छन् । यसका अलावा बजाजले एन १६० पनि बिक्री गर्दै आएको छ । अहिले एन १६० ले राम्रै बजार पाइरहेको छ । एनएस १६० र अपाचे आरटीआर १६० फोर भीको भने चर्चा कम छ ।
सेग्मेन्ट लिडर फिचर र चर्चा कम भएको एक्स्ट्रीम १६० आर
हिरोले नेपाली बजारमा एक्स्ट्रीम १६० आर पनि बिक्री गर्दै आएको छ । तर, यो मोटरसाइकलको चर्चा माथि चर्चा भएका दुई मोडलको तुलनामा अझ कम छ ।

हिरो एक्स्ट्रीम १६० आर को पावरमा पल्सर एन १६० भन्दा लगभग १ पीएस अगाडि छ । पल्सर एन १६० मा भएको १६४.८ सीसी इन्जिनले १६ पीएस पावर जेनेरेट गर्दा एक्स्ट्रीम १६० आरले १६.९ पीएस पावर जेनेरेट गर्छ । यही सेग्मेन्टमा अपाचेको पावर केही धेरै छ । हिरोले एयरकुल्ड र आयल कुलिङ सिस्टममा यसलाई बिक्री गर्छ ।
यसमा बजाज पल्सर एन १६० मा जस्तै ३७ एमएम यूएसडी फर्कछ । अपाचेमा टेलिस्कोपिक सस्पेन्सन सेटअप उपलब्ध छ ।
एक्स्ट्रीम १६० आरमा फुल डिजिटल एलसीडी डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, मोनोसक सस्पेन्सन, एलईडी हेडलाइट, एलईडी इन्डिकेटर, डीआरएल, यूएसबी चार्जिङ पोर्ट लगायलका फिचर उपलब्ध छन् । यो मोटरसाइकलको दुवैतर्फ डिस्क ब्रेकका साथै सिंगल च्यानल एबीएस समेत पाउन सकिन्छ ।
नेपाली बजारमा बजाज पल्सर एन १६० को डबल च्यानल एबीएस भसर्नको मूल्य ४ लाख २० हजार रुपैयाँ रहेको छ । टीभीएस अपाचे आरटीआर १६० फोरभीको स्पेशल एडिशनको मूल्य ३ लाख ९० हजार रुपैयाँ छ । हिरोले एक्स्ट्रीम १६० आरको मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

सेग्मेन्टमा निकै प्रतिस्पर्धी फिचर र पर्फमेन्स भएर पनि त्यति चर्चा नपाउनुको मुख्य कारण एग्रेसिभ डिजाइनमा तयार पारिएको पिलियन सिट हुन सक्छ । भारतमा हिरोले हालैमात्र सिंगल सिट भर्सन पनि बिक्री थालेको छ ।
एक्स्ट्रीम १६० आरमा कम्पनीले क्रुज कन्ट्रोल लगायतका नयाँ फिचर थप गरेर ल्याएको छ । यो भेरियन्ट नेपाल आउँदा भने त्यसले राम्रै चर्चा पाउने अनुमान गर्न सकिन्छ ।

