जेन-जी आन्दोलनपछि मोटर बीमा गराउने बढे, कतिले गरे ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन-कात्तिक)मा मोटर बीमा गराउनेको संख्या बढेको छ । गत आवको ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मोटर बीमा गराउनेको संख्या १० हजार ६०६ वटाले बढेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ४ महिनामा १४ निर्जीवन बीमा कम्पनीले कुल ५ लाख ६ हजार १३७ वटा मोटर बीमालेख (पोलिसी) जारी गरेका छन् । समीक्षा अवधिमा मोटर बीमा गराउनेको संख्या २.१४ प्रतिशतले बढेको हो । गत वर्ष कात्तिकसम्म कुल ४ लाख ९५ हजार ५३१ वटा मोटर बीमा पोलिसी जारी भएको थियो ।

मुख्यगरी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मोटर बीमा गराउनेको संख्या ह्वात्तै बढेको देखिन्छ । आन्दोलनका क्रममा ६ हजार बढी (एकीन तथ्यांक आइसकेको छैन) सार्वजनिक र निजी सवारी जलेर खरानी भएका थिए । तर, सबै सवारीको बीमा नहुँदा २२९० वटाले मात्र क्षतिपूर्ति दाबी गरेका छन् । आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपरेपछि सवारीधनी सचेत भई बीमा गराउन थालेको तथ्यांकले देखाउँछ ।

प्राधिकरणको तथ्यांक अनुसार असोज र कात्तिकमा मात्रै २ लाख ८६ हजार ३९२ मोटर बीमा पोलिसी जारी भएका छन् । यो साउन र भदौ दई महिनाको तुलनामा ५६ हजार धेरै हो । जबकि साउन र भदौ दुई महिनामा कुल २ लाख १९ हजार ७४५ वटा पोलिसी जारी भएका थिए ।

आन्दोलनपछिका दुई महिनामा क्रमशः असोजमा १ लाख ५० हजार ५९४ र कात्तिकमा १ लाख ३५ हजार ७९८ र मोटर बीमा भएका छन् । त्यसअघि भदौमा १ लाख ८ हजार ४४ र साउनमा १ लाख ११ हजार ७०१ वटा मोटर बीमा पोलिसी जारी भएको थियो ।

बीमा कम्पनीहरूले कम्प्रिहेन्सिभ र थर्ड पार्टी मोटर बीमा गर्दै आएका छन् । कुल संख्यामध्ये कति कम्प्रिहेन्सिभ र कति थर्ड पार्टी भन्ने प्राधिकरणले खुलाएको छैन । यद्यपि, दुईतिहाई बढी हिस्सा थर्ड पार्टीको हुने बीमकहरू बताउँछन् ।

जेनजी आन्दोलनमा हजारौं सवारी साधनमा आगजनी भएपछि मोटर बीमा गर्नेको संख्यामा केही वृद्धि भएको बीमकहरू बताउँछन् ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री जेनजी आन्दोलनपछि मोटर बीमा गर्नेको संख्या केही बढेको बताए । उनले सवारीधनीले जुनसुकै बेला सवारीमा क्षति पुग्ने बुझेर सुरक्षाका लागि बीमा गर्न थालेको बताए ।

‘बीमा कम्पनीले वर्षौंदेखि मोटर बीमा गर्दै आएका छन् । तर, सबै सवारीधनीले फुल इन्स्योरेन्स बीमा गर्दैनन् । जेन-जी आन्दोलनपछि भने मोटर बीमा गर्नेको संख्या केही बढ्न थालेको देखिन्छ । सवारीधनीले बीमाको महत्व बुझन् थाले जस्तो छ,’ उनले मेरोअटोसँग भने, ‘बीमा गर्दा सवारीमा क्षति पुगे पनि धनीले धेरै नोक्सानी व्यहोर्नुपर्दैन । क्षतिपूर्ति पाइन्छ ।’

त्यस्तै, चालु आवमा नयाँ सवारी साधनको बिक्री बढ्दा पनि मोटर बीमा गराउनेको संख्यामा वृद्धि हुन पुगेको उनको भनाइ छ ।

चालु आवमा मोटर बीमा पोलिसीको संख्या बढेसँगै प्रिमियम रकम पनि बढेको छ । ४ महिनामा निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमा बापत ५ अर्ब ५१ करोड २५ लाख रुपैयाँ प्रिमियिम संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ९२ करोड रुपैयाँ धेरै हो । गत वर्ष ४ महिनामा मोटर बीमाबाट ४ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ प्रिमियम संकलन भएको थियो ।

सवारीधनीले आफ्नो सवारी साधनको सुरक्षणका लागि मोटर बीमा गर्छन् । सवारी साधन चलाउने क्रममा हुने सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिबाट बच्न मोटर बीमा गरिन्छ ।

हाल कम्पनीहरूले थर्ड पार्टी र कम्प्रिहेन्सिभ मोटर बीमा गर्छन् । सवारी साधनले तेस्रो पक्षलाई पुर्याउने हानी नोक्सानीबाट बच्न थर्ड पार्टी पनि मोटर बीमा गर्छन् । यो सवारी नवीकरण गर्नका लागि अनिवार्य छ ।

कम्प्रिहेन्सिभ मोटर बीमा भने स्वेच्छिक छ । सवारीधनीले आफ्नो इच्छा अनुसार गराउन सक्छन् । यद्यपि, किस्ताबन्दीमा किन्ने सवारी साधनमा भने कम्प्रिहेन्सिभ बीमा अनिवार्य छ ।यो बीमा गर्दा सवारीमा साधनमा कुनै पनि हानी पुगेमा क्षतिपूर्ति पाइन्छ ।

सरकारी सवारीको बीमा पनि सुरू

यसअघि निजी सवारी साधनको मात्रै बीमा हुँदै आएकोमा अब सरकारी सवारीको पनि बीमा गर्न सुरू गरिएको छ । जेनजी आन्दोलनमा हजारौं सरकारी सवारीमा आगजनी हुँदा नष्ट भए । तर, बीमा नहुँदा राज्यले अर्बौं नोक्सानी व्यहोर्नुपर्यो ।

सोही घटनाबाट पाठ सिकेर सरकारले सबै सरकारी सवारीको बीमा गर्ने निर्णय गरेको छ । गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सवारी साधनको कम्प्रिहेन्सिभ निर्जीवन बीमा गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा हालै अर्थमन्त्रालयको स्वामित्वमा रहेका २० वटा चारपाँग्रे सवारी साधनको पूर्ण निर्जीवन बीमा गरिएको हो । अब क्रमशः अन्य मन्त्रालय तथा निकायहरूको स्वामित्वमा रहेको सवारी साधनको पनि पूर्ण बीमा गरिने जनाइएको छ ।


Back_to_top