काठमाडौं । बैंकबाट ऋण लिएर गाडी किन्ने योजनामा रहेकालाई झनै फाइदा हुने भएको छ । बैंकहरूको बेसरेट लगातार महिनैपिच्छे घट्दा निकै सस्तो ब्याजदरमा कर्जा पाउने अवस्था आएको हो ।
अहिले बैंकको ब्याजदर इतिहासकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले वि.सं. २०६८ फागुनदेखि आधिकारिक रूपमा कर्जाको मासिक औसत ब्याजदर सार्वजनिक गर्न थालेको थियो । त्यसलाई आधार मान्दा अहिले बैंकको ब्याजदर इतिहासकै भएको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार हाल कर्जाको औसत ब्याजदर ६.७३ प्रतिशतमा झरेको छ । जबकि ४/५ वर्षअघि १५/१६ प्रतिशतसम्म पुगेको पुगेको थियो । विगतको तुलना गर्ने हो भने अहिले ब्याजदर आधारभन्दा सस्तो भएको हो ।
बैंकहरूले बेसरेटमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडर कर्जा लगानी गर्छन् । न्यूनतम प्रिमियम भने ग्राहकले गर्नसक्ने बार्गेनिङमा भर पर्छ । अहिले प्रणालीमा अधिक तरलता रहेकाले बार्गेनिङ गर्न सक्ने ग्राहकले न्यूनतम ०.५/१ प्रतिशत प्रिमियममै पनि ऋण पाउने अवस्था छ । सो अनुसार बैंकबाट ६/७ प्रतिशत हाराहारीमै ऋण पाइने अवस्था छ । अझ बेसरेट कम भएका बैंकबाट सोभन्दा कम ब्यादरमा ऋण पाइन्छ ।
अहिले कर्जाको माग कम हुँदा पैसा बैंकमै थुप्रिएर बसेको छ । यस्तो ऋण लिन आउने ग्राहकलाई बैंकहरूले न्यूनतम प्रिपिमयमै ऋण दिइरहेको छन् ।
बैंकहरूले स्थिर ब्याजदरमा ऋण लिन चाहने ग्राहकलाई पनि सस्तै ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेका छन् । बैंकहरूले अहिले ६.५ प्रतिशतदेखि ९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेका छन् । बैंकहरूले ५ देखि ७ वर्षसम्मका लागि ऋण दिन्छन् ।
आगामी साउन र भदौमा दुई वटा अटो शो आयोजना हुँदैछ । जहाँ दर्जनौं नयाँ मोडलका गाडी लन्च हुँदैछन् । यस्तो बेला बेला बैंकको ब्याजदर इतिहासकै सस्तो रहेकाले तपाईंलाई नयाँ गाडी चढ्ने उत्कृष्ट अवसर हुन सक्छ ।
ब्याजदर जति कम भयो, ऋणीलाई उति नै फाइदा हुन्छ । सस्तो ब्याजमा ऋण लिएर गाडी किन्दा लागत समेत कम पर्न जान्छ । मासिक तिर्नुपर्ने ब्याजखर्च कम हुन्छ ।
कुन बैंकबाट कति ब्याजदरमा पाइन्छ ऋण ?
कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकबाट कम ब्याजदरमा ऋण पाइन्छ भने बेसरेट धेरै भएका बैंकबाट लिँदा केही महँगो पर्छ ।
२० वटा बैंकमध्ये हाल ९ बैंकको औसत बेसरेट ५ प्रतिशतभन्दा तल झरेको छ । जसमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट सबैभन्दा सस्तो ४.२२ प्रतिशत छ । यो बैंकले न्यूनतम १/१.५ प्रतिशत प्रिमियममा ऋण दियो भने ५.५/६ प्रतिशत हाराहारीमै पाउने अवस्था छ ।
त्यस्तै, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डको बेसरेट साढे ४ प्रतिशतभन्दा कम छ । जसमा चार्टर्डको ४.२९ प्रतिशत र एभरेष्टको ४.३८ प्रतिशत छ । यी बैंकबाट पनि ऋण लिँदा ५.५/६ प्रतिशत ब्याजदरमै पाइने अवस्था छ ।
नबिल, नेपाल, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई, कृषि विकास र सानिमा बैंक पनि तुलनात्मक रूपमा सस्तो ब्यादरमा कर्जा पाइने बैंकमा पर्छन् । यी बैंकको बेसरेट ४.५ प्रतिशतदेखि ५ प्रतिशतको बीचमा छ । १/१५ प्रतिशत प्रिमियमै कर्जा दिए भने ६/६.५ प्रतिशतमै पाइन्छ । नेपाल, ग्लोबल आइएमई लगायत बैंकले ६ प्रतिशतभन्दा कम ब्याजदरको सस्तो अटो लोन स्कीम समेत ल्याएका छन् ।
यी बाहेक अरू १० बैंकको बेसरेट ५ देखि ५.५ प्रतिशतको बीचमा छ । ती बैंकबाट पनि ६.५/७ प्रतिशत ब्याजदरमै अटो कर्जा पाउन सकिन्छ ।
वाणिज्य बैंकमध्ये एनआइसी एसियाको बेसरेट सबैभन्दा महँगो ६.०४ प्रतिशत छ । यसबाट ऋण लिँदा केही महँगो पर्ने देखिन्छ ।


