इलेक्ट्रीकमा आयो यामाहाको एरोक्स स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । यामाहाले भारतको प्रिमियम इलेक्ट्रीक स्कुटर सेग्मेन्टमा प्रवेश गर्दै नयाँ एरोक्स-ई सार्वजनिक गरेको छ । यामाहाले पेट्रोलबाट चल्ने एरोक्स १५५ को प्लेटफर्ममा आधारित नयाँ एरोक्स-ई भारतीय बजारमा लन्च गरेको हो ।

कम्पनीले पुरानो एरोक्सकै स्पोर्र्टी डिजाइनलाई निरन्तरता दिएर बजारमा ल्याएको एरोक्स-ई आधुनिक प्रविधि र प्योर इलेक्ट्रीक पावरट्रेनसहित बजारमा आएको छ । कम्पनीले एरोक्स-ईको मूल्य (एक्स शोरुम) २ लाख ८१ हजार ६०० भारतीय रुपैयाँ तोकेको छ ।

यामाहाले यसलाई स्पोर्टी प्रदर्शनसँगै दैनिक प्रयोगका लागि उपयुक्त हुने प्रिमियम इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरेको छ । एरोक्स–ईमा १.५ किलोवाट आवर क्षमताका दुईवटा रिमुभेबल लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । यो स्कुटरले एकपटकको फुलचार्जमा ११७ किलोमिटरसम्म आइडीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

स्कुटरमा जडान गरिएको इलक्ट्रीक मोटरले अधिकतम ९.४ किलोवाट पावर र ४८ एनएम टर्क उत्पादन गर्छ । पावर ं बुस्ट मोडमा यसको अधिकतम गति ९५.५ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ ।

एरोक्स–ईमा इकोनोमी, स्ट्याण्डर्ड र पावर गरी तीनवटा राइडिङ मोड उपलब्ध छन् । जसले प्रयोगकर्तालाई आवश्यकता अनुसार प्रदर्शन र रेन्ज सन्तुलन गर्न मद्दत गर्छ ।

यसमा दिइएको ब्याट्रीलाई छुट्टाछुट्टै चार्ज गर्दा शून्यदेखि १०० प्रतिशतसम्म चार्ज हुन करिब ३ घण्टा १० मिनेट समय लाग्नेछ । जस अन्तर्गत दुवै ब्याट्री एकसाथ चार्ज गर्दा भने ६ घण्टा २० मिनेट समय लाग्छ ।

यामाहाले एरोक्स-ईमा पूरा कलरफुल टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, टर्न-बाइ-टर्न नेभिगेसन, कल तथा एसएमएस अलर्ट, वाइ कनेक्ट स्मार्टफोन कनेक्टिभिटी सिस्टम, राइड स्टाटिस्टिक्स, एलईडी लाइटिङ, कीलेस इग्निसन, रिभर्स मोड, ट्र्याक्सन कन्ट्रोल, सिंगल-च्यानल एबीएस, अलोय ह्वील, डिस्क ब्रेक लगायतका प्रिमियम फिचरहरू उपलब्ध गराएको छ ।

यामाहाले एरोक्स-ईलाई हाल ग्लोसी ह्वाइट कलरमा मात्र उपलब्ध गराएको छ । जसमा ब्ल्याक एक्सेन्ट र हल्का निलो ग्राफिक्स प्रयोग गरिएको छ ।


Back_to_top