काठमाडौं । सिधै भारतमा चिनियाँ ब्राण्डको प्रबेश खुला नभएकाले नयाँ बाटो पहिल्याउँदै चेरी अटोमोबाइल ग्रुपका उत्पादन भारत प्रबेश गर्ने भएका हुन् । भारतीय जेएसडब्लू मोटर्सले चेरीका विभिन्न उत्पादन भारतमा एसेम्बल गर्ने भएको हो ।
जिन्दाल ग्रुपको स्वामित्वमा रहेको जेएसडब्लू मोटर्सले यसअघि चिनियाँ ब्राण्ड एसएआइसी ग्रुपको एमजी मोटर्स इन्डियामा लगानी गर्दै अटोमोबाइल ब्यवसायमा प्रबेश गरेको थियो । अब छुट्टै कम्पनी स्थापना गरेर कम्पनीले कार बजारमा ल्याउन लागेको हो ।
भारतमा चेरी ग्रुप अन्तर्गतको आइकार, जेको र जेटोर ब्राण्डको एक एक मोडल अहिले परीक्षण भइरहेको छ । जेएसडब्लू मोटर्सले जेटोर ब्राण्डको टी-२ मोडलमा आधारित प्लगइन हाइब्रिड, जेको जे फाइभ एसयूभी र आइकार भी-२३ मा आधारित एसयूभीको परीक्षण गरिरहेको हो ।
यसअघि नै जेएसडब्लू मोटर्सले यी गाडीको प्याटेन्ट भारतमा दर्ता गराएको थियो । अहिले परीक्षण चलिरहेको कारण सन् २०२६ को अन्त्यबाट यी एसयूभीहरु बजारमा आउन थाल्नेछन् ।
नेपाली बजारमा जेको जे फाइभ र आइकार भी-२३ अहिल्य नै बिक्री हुँदै आएका छन् । जेटोर ब्राण्डका उत्पादन पनि छिट्टै नेपाल आउने अनुमान गर्न सकिन्छ । तर, नेपालमा सिधै चीनमा उत्पादन भएर नै यी गाडी आउने छन् ।

