काठमाडौं । जापानी ब्राण्ड सुजुकीको एक्सेस १२५ स्कुटरको नयाँ भेरियन्ट नेपाल आइपुगेको छ ।
नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले एक्सेस १२५ स्कुटरको नयाँ भेरियन्ट नेपाल भित्र्याएको हो ।
उक्त स्कुटर भारतीय बजारमा लन्च भएको १ महिनापछि नेपाल आएको हो । नेपालमा नयाँ सुजुकी एक्सेस लन्च हुने मिति औपचारिक रूपमा घोषणा भएको छैन । तर, चाँडै बिक्री सुरू हुने कम्पनी स्रोतले जनाएको छ ।
नयाँ सुजुकी एक्सेस १२५ भारतमा उत्पादन भएको हो । भारतमा एक्सेस १२५ स्कुटर राइड कनेक्ट टीएफटी एबीएस, राइड कनेक्ट एबीएस, राइड कनेक्ट टीएफटी, राइड कनेक्ट, स्पेसल र स्ट्याण्डर्ड एडिसन गरी ६ भेरियन्टमा उपलब्ध छ । नेपाल आएको स्कुटर कुन भेरियन्ट हो भन्ने कम्पनीले खुलाएको छैन ।
नयाँ एक्सेसमा १२४ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक, टु भल्ब, एसओएचसी, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम ८.७ पीएस पावर तथा १०.२ एनएम टर्क जेनेरेट गर्छ ।
सुजुकीले एक्सेसमा पहिलो पटक सुरक्षा फिचरका रूपमा सिंगल च्यानल एबीएस ब्रेकिङ सिस्टम प्रयोग गरेको छ । यसमा सीभीटी ट्रान्समिसन सिस्टम, भेरियन्ट अनुसार ड्रमब्रेक र डिस्कब्रेक अप्सन अलोय ह्वील, ट्युबलेस टायर, फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा स्विङआर्म सस्पेन्सन सेटअप, एलईडी लाइट, कलरफुल डिजिटल डिस्प्ले लगायतका फिचरहरू छन् ।
स्कुटरमा कनेक्टिभिटी सिस्टम सहितको डिस्प्ले र एलईडी हेड्ल्याम्प छ । साथै, टर्न बाइ टर्न नेभिगेसन, ५.३ लिटरको फ्युल ट्याकं, २४.४ लिटरको अण्डर सिट स्टोरेज छ ।
हाल नेपालमा भने कम्पनीले सुजुकीको एक्सेस १२५ को बीएस ६ भेरियन्ट बिक्री गरिरहेको छ । नेपाली बजारमा यसको मूल्य २ लाख ६५ हजार ९०० रुपैयाँ रहेको छ । नयाँ भेरियन्टको मूल्य अहिलकोभन्दा १० देखि १५ हजार रुपैयाँ बढ्ने अनुमान छ ।
सुजुकीको एक्सेस १२५ भारतमा निकै चर्चित मानिएको मोडल हो । यो भारतमा स्कुटर सेग्मेन्टमा धेरै बिक्री हुने मोडलमा पर्छ ।

